सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काठको मूल्य दोब्बर, मनपरी बढेपछि डिभिजन वनबाटै मूल्यसूची

२०८० वैशाख ६, ०७:११ कमल सावद

धनगढीः कैलालीका वनहरुबाट उपभोक्ताले तीन सयदेखि चार सयसम्मा काठ पाउदै आएका थिए। काठ व्यवसायी र उपभोक्ताले खरिद गर्ने काठको मूल्य फरक छ।

तर डिभिजन वन कार्यालय, धनगढीले चैत १० गते सामुदायिक वनहरुलाई पत्र पठाउदै सिसौ र सालको काठको मूल्य एक हजारसम्म लिन निर्देशन दिएको छ। सामुदायिक वनले स्वीकृत कार्ययोजना अनुसार काठ तथा वन पैदावारको मूल्य लिनुपर्ने भए पनि डिभिजन वन कार्यालयले मुल्य बढाएको आरोप छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का युवा सीपि सापकोटाले वृद्धि गरिएको मूल्य सच्याउन माग गरेका छन्। उनले काठको मूल्य दोब्बरले वृद्धि गरिएको गुनासो गरे।

 

सामुदायिक वनहरुले स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन पैदावारको मूल्य निर्धारण गर्नुपर्नेे हुन्छ। तर डिभिजन वन कार्यालय धनगढीले स्तरअनुसार काठको मूल्यसहितको पत्र सामुदायिक वनहरुलाई पठाएको छ। डिभिजन वन कार्यालय, धनगढीले सामुदायिक वनहरुलाई पठाएको पत्रमा सिसौ र सालको ‘ए’ स्तरको प्रति घनफिटको एक हजार मूल्य निर्धारण गरिएको छ। सिसौ ‘बि’ को आठ सय, ‘सी’को पाँच सय र ‘डि’ स्तरको सिसौको मुल्य तीन सय निर्धारण गरिएको छ। डिभिजन वनको पत्रमा सालको ‘बि’ स्तरको काठको मूल्य सात सय निर्धारण गरिएको छ। सालको ‘सि’ स्तरको पाँच सय र ‘डि’ स्तरको सालको मुल्य प्रति घनफिट २५० रुपैयाँ मुल्यसहितको पत्र पठाइएको छ। 

तर डिभिजन वन कार्यालयले उपभोक्तहरुले बद्मासी गर्दै आएकाले यस्तो गरिएको तर्क छ। डिभिजन वन कार्यालय, धनगढीका प्रमुख केशब पराजुलीले सामुदायिक वनहरुले संकलन गरेको रकम सरकारलाई नदिने भएकाले फरक नपर्ने बताए। उनले भने, ‘काठ सधै चाहिने कुरा हैन। दैनिक चाहिने, दाउरा लगायतका वन पैदावारमा रोकावट छैन। तर काठमा जिल्लाको  दररेट अनुसार गर्न भनेका हौ।’

डिभिजन वन कार्यालयले सरकारी दरसेटमा काठ बिक्री गर्न निर्देशन दिएको दाबी गरेको छ। वन ऐनले स्वीकृत कार्ययोजना अनुसार काम गर्न पाउने व्यवस्था छ। आन्तरिक खपतका लागिसमेत वितरण गरिएको काठ कैलालीमा बिक्री हुँदै आएको तर्क वन अधिकारीको छ। वन नियमावली २०७९ अनुसार काठ बिक्री गर्न भनिएको दाबी डिभिजन वन कार्यालय धनगढीका प्रमुख पराजुलीको छ। 

सामुदायिक वनहरुको वार्षिक कार्ययोजना अनुसार गरिब उपभोक्तालाई निःशुल्क काठ बिक्री गर्न पाउने व्यवस्था छ। तर कैलालीका सामुदायिक वनहरुलाई महंगोमा काठ बिक्री गर्न डिभिजन वनले बाटो खुला गरिदिएको छ। 

कैलालीमा उपभोक्तालाई वितरण गरिने काठको मूल्य बढाएको आरोप लागेको छ। जिल्लाका सामुदायिक वनहरुमा काठ वितरणको तयारी भइरहेका बेला डिभिजन वन कार्यालयले मूल्य वृद्धिसहितको पत्र पठाएको हो। सामुदायीक वनले स्वीकृत कार्ययोजना अनुसार काठ बिक्री गर्न पाउने भएपनि डिभिजन वन कार्यालयले सामुदायिक वनहरुलाई मुल्य सुची पठाएको छ। उपभोक्ताले काठको दुरुपयोग गर्दै आएकाले कडाई गरिएको वन कार्यालयको दाबी छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस