धनगढीमा पाँच वर्षसम्म पुल निर्माण सुरु नगरेरै निर्माण कम्पनी बेपत्ता
धनगढीः धनगढीमा सम्झौताको पाँच वर्षसम्म पुल निर्माणको काम सुरु नै नगरेर निर्माण कम्पनी बेपत्ता भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ र १६ मा पर्ने शिवगंगा नदीमा पुल निर्माणको सम्झौता गरिएको पाँच वर्षसम्म पनि निर्माण कम्पनी सम्पर्कमा आएको छैन्।
संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७४ असार ३ गते पुल निर्माणका लागि पप्पु एड्भेन्चर जेभीसँग सम्झौता गरेको थियो। १४ करोड २६ लाखमा तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणका सम्झौता भएको थियो। तर निर्माण कम्पनी भने काम सुरु नगरेरै बेपत्ता छ।
जगको डिजाइनमा समस्या देखिएको कारण देखाउदै पुल निर्माणको काम अलपत्र पारिएको हो। पुल निर्माणको ठेक्का पाएको पप्पु एड्भेन्चर जेभीले २०७७ असार २५ गतेभित्र निर्माणको काम सक्नुपर्ने हो। पुल निर्माण हुने भनेपछि खुसी भएका स्थानीय सम्झौता भएको पाँच वर्षसम्म पनि सुरु नै नभएपछि निरास बनेका हुन्।
सम्झौता भएको पाँच वर्षसम्म पुल निर्माणको काम अघि नबढाउने सो निर्माण कम्पनीलाई कुनै कारबाही समेत गरिएको छैन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरको फिल्ड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले डिजाइनमा समस्या आएको बताए। उनले भने, ‘निर्माण अगाडि बढेको छैन। कागजपत्र पेश गरेको छैन्। डिजाइनपनि संसोधन गर्नपर्नेछ। फाउण्डेशनको परिक्षणको कागजपत्र पेश भएको छैन।’
पुल नहुँदा वडा नम्बर १६ रामपुर क्षेत्रका स्थानीयलाई बढी समस्या छ। शिवगंगापारिका बासिन्दाले रोजागरी, पढाइ, व्यवसाय लगायत कामका लागि धनगढी पुग्नुपर्ने हुन्छ। उनीहरुलाई बर्सातको समयमा समस्या हुँदै आएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरीले पुल निर्माणको ठेक्का पाएको कम्पनी बेपत्ता भएको बताए। उनले भने, ‘जोखर तालदेखि बेहडाबाबा जोड्ने सडकमा एक पुल निर्माण भएको छ।
खुटियामा पुल छ। शिवगंगाको पुल अलपत्र छ। त्यो पुल बनेको भए, सजिलो हुने थियो।’ पुल नहुँदा स्थानीयले अहिले ह्यूम्पाईप मार्फत नदीमा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। मोटरसाइकल, अटोरिक्सा र गाडी पनि ह्यूम्पाइपबाटै ओहोरदोहोर भइरहेका छन्। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले निर्माण कम्पनीसँग ठेक्का तोड्नुको बिकल्प नरहेको बताए। उनले निर्माण कम्पनीको बेवास्ताका कारण नागरिकले दुःख पाएको बताए। पुल नबन्दा बेहडाबाबाका पर्यटकका लागिसमेत समस्या हुने गरेको उनले बताए।