बझाङको बिस्खेतका १८ मुक्तहलिया परिवारलाई बस्नै समस्या
शिवजी मण्डेल , बझाङः बझाङको थलारा गाउँपालिका–८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन्। उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या हुँदैआएको छ। यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौंदेखि भोक्द आएका छन्। अहिले उक्त १८ परिवार परिचयपत्र पीडित भएर बस्नु परेको छ। सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्त प्रथा घोषणा गर्यो।
हलिया मुक्त घोषणा पश्चात् सरकारले हलिया मुक्त परिचयपत्र पनि प्रदान गरेको थियोे। बिस्खेतका हलिया मुक्त परिवारले जुन वर्गको परिचयपत्र पाउने पर्ने थियो तर त्यो नपाएको गुनासो गर्दै आएका छन् ,भने एउटा परिवारले परिचयपत्र नै पाएको छैन। यसरी आफूहरू परिचयपत्र पीडित बनेको उनीहरुको भनाइ छ।
सरकारले ६ चैत २०७० मा मन्त्रिपरिषद्को बैठकबाट मुक्त हलियाको पुनःस्थापनको ढाँचा र कार्ययोजना स्वीकृत गरेको थियो । उक्त कार्ययोजनाले मुक्त हलिया परिवारलाई चार किसिमले वर्गीकरण गरेको थियो ।
जसअनुसार आफ्नो स्वामित्वमा घर–जग्गा दुवै नभएको परिवारलाई ‘क’ वर्ग, आफ्नो घर भएको जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो जग्गा भएको घर नभएकोलाई ‘ग’ र आफ्नो स्वामित्वमा घर–जग्गा दुवै भएको परिवारलाई ‘घ’ वर्गमा राखेर वर्गीकरण गर्दै सोही अनुसार परिचयपत्र पनि वितरण गरिएको थियो ।
उनीहरूले घर मात्रै भएको र जग्गा नभएको हुँदा ञखझ वर्गको परिचयपत्र पाउनुपर्ने भएपनि पाएका छैनन् । आफ्नो जग्गा नभएका ती परिवारलेञखझ वर्गको परिचयपत्र नपाइ उल्टो ञघझ वर्गको परिचयपत्र पाएपछि लामोसमयदेखि विभिन्न मागहरू राख्दै आएका छन् ।
सरकारको तय गरेको कार्ययोजना आफ्नो बस्तीमा लागू नभएपछि सरोकारवाला निकाय संग उक्त मागका लागि मानव अधिकारवादी संस्था फियान नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७४÷०७५ मा मुक्त हलिया खाद्य अधिकार समुह गठन गठन गरियो।
समुह गठन पश्चात् फियान नेपालकै सहजीकरणमा वडा कार्यालय गाउँपालिका हुँदै जिल्ला र प्रदेश सरकार सम्मञखझ वर्गको परिचयपत्र र छुट परिवारले पनि हलिया मुक्त परिचयपत्र पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाए । तर ज्ञापनपत्र बुझाएका निकायबाट माग पूरा हुन्छन् भन्ने आश्वासन भन्दा ठूलो केही नपाएको दिनेश नेपाली बताए ।
गाइबस्तुसँग बस्नुपर्ने अवस्था , आगोको डर
अहिले उक्त वस्तीका सबै परिवारसँग घर भएपनि साँघुरो भएका कारणले बस्न र सुत्नमा निकै समस्या हुँदै आएको अशोक नेपाली बताए । उनले भने घर साँघुरो ,साँघुरो छन सबैलाई बस्न, सुत्न प्रयाप्त ठाउँ छैन , अन्य कुनै उपाय नभएपछि आमाबाबु छोरा बुहारी दाजुभाइ एउटै गोठको ओछ्यानमा सुत्नुपर्ने अवस्था छ, यसरी बस्दा पनि ठाउँ नहुँदा एकठाउँमा आफू बस्नुपरेको र अर्को ठाउँमा गाईबस्तु राख्नु पर्ने बाध्यता रहेको उनले देखेसो गरे । आफन्त पाहुना आउँदा घरमा बस्नको समस्या देखिनु उक्त बस्तीमा नौलो कुरा होइन र आफन्त पाहुना आउँदा निकै समस्या हुँदैआएको छ । यो अवस्थमा कित बाहिरी बस्नुपर्छ भने कित पाहुनालाई नै घर फर्काउनुपर्ने हुन्छ ।
सुत्ने ठाउँमै भान्सा भएकाले लुगाकपडा, कापी किताब आवश्यक कागजात जल्ने डर समेत रहेको छ, भने , बालबच्चाको शरीर समेत जल्ने गरेको देवकी नेपालीले बताइन् । केही समय अगाडि ठाउँ साँघुरो हुँदा चुलोमा बालेको आगोले कपडामा सल्केर आफ्नो बच्चाको हातको औंला जलेको सुनाइन् । अहिलेसम्म आगोले जलेर कसैको ज्यान नगएको भएपनि भान्सा र सुत्ने ठाउँ सँगै भएकोले कतिखेर केपो हुन्छ भन्ने डरले पिरोलि रहन्छ उनले भनिन् ।
बस्ती पहिरोको जोखिममा , सरकारबाट टालटुल मात्रै
अहिले बिस्खेतका हलिया मुक्त परिवारको बस्ती पहिरोको जोखिममा रहेको छ । २०७८ साल असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्मको अविरल वर्षाका कारणले बस्तीको तलबाट पहिलो गएपछि अहिले उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको हो । पहिरो गएपछि सरकारले टालटुलका लागि तटबन्ध गरेको थियोे । तर उक्त तटबन्ध टालटुलका लागि मात्रै भयो पहिरोको डर र जोखिम कायमै रहेको मुक्तहलिया खाद्य अधिकार समुहका सचिव श्यामबहादुर नेपालीले जानकारी दिए । तटबन्ध कर्मागत रुपमा हुने भनिए पनि एकपटक टालटुल बाहेक दोस्रोपटक नभएको नेपाली भने ।
अब वर्षाको समय नजिकिदै छ घरको आँगन कमजोर रहेकाले डराइ रहेका छन् प्यारु दमाई । दमाईका छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् , उनी एक्लै घरमा बस्छन् , उनले भने म बुढो भइसके कतिबेला पो पहिरो जान्छ डर लागि रहेको छ । हामीलाई सरकारले बस्ती त कहाँ स्थानान्तरण गरि दिन्थ्यो , अलिकति भएको यहीँ बस्ती, घरलाई बचाउनका लागि केही सहयोग गरिदिए पनि हुन्थ्यो प्यारुको भनाइ छ ।
त्यसैमाथि केही महिना अगाडि गएको भुकम्पका कारणले भएका घरहरू पनि चर्किएका छन् । भुकम्प आएपछि एकदुई महिनासम्म बाहिरी बसेर दिनहरु बिताए भने पछि चर्किएको ठाउँमा टालटुल गरि उनीहरू डरैडरमा घर भित्र बस्न थाले ।
उनीहरू सँग लालपुर्जा भएपनि घर बाहेक जग्गा जमिन केही छैन । १८ परिवारका केटाकेटीलाई खेल्ने र केही छलफल गर्नुपरे सारै समस्या रहेको छ । उक्त वस्तीमा आँगनको अभाव छ , कुनै विवाह भोजभतेर भए मान्छेलाई उभिन समेत ठाउँ नभएको त्यहाँका स्थानीयले बताए ।
बस्तीमा आफूलाई शौचालय बनाउन समेत ठाउँ नरहेको र खानेपानीको समेत समस्या रहेको उनीहरूको भनाइ छ । अहिले उक्त वस्तीमा १८ परिवारका १ सय २० जना सदस्य लगभग ४ सय वर्ग मिटर क्षेत्रफलमा बसिरहेका छन् ।
यो बसोबास गर्न समेत नपुग्ने ठाउँको लालपुर्जा हुनुभन्दा नभएको भएपनि हुन्थ्यो अशोक नेपालीले बताए । हामी सँग लालपुर्जा त छ , तर घरको मात्रै, परिवार संख्या बढ्यो तर जग्गा नबढ्दा बसोबासमै सास्ती खेपिरहेको समेत नेपालीले जानकारी दिए।
सरकारले मुक्त हलियाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिने घोषणा गरेको थियो । तर बिस्खेतका हलिया केहीले गाउँमै अरुको काम गरेर जीविका चलाइरहेका छन्, भने बढी जसो स्वदेशमा केही रोजगारी नहुँदा भारत जानुपर्ने अवस्था रहेको छ । उनीहरू सँग कुनै रोजगारी छैन।
उक्त वस्तीका नागरिकले सरकार बाट अहिलेसम्म एक साँझा भवन, अनुदानमा हाते ट्याक्टर र टालटुलको तटबन्ध मात्रै पाएको उनीहरूले बताए । उनीहरू भन्छन् सबका लागि सरकार भएपनि आफ्ना लागि सरकार नभएको जस्तो अवस्था रहेको छ । स्थानीय तह लागू भयो गाउँगाउँमा सिंहदरबार भनियो तर सिंहदरबार कता गयो ? अहिलेसम्म आफ्नो मागहरू सम्बोधन किन भएन भन्दै उनीहरू स्थानीय, प्रदेश र संघीय सरकार सँग प्रश्न समेत गर्दै आएका छन् ।
यता थलारा गाउँपालिका– ८ का वडाध्यक्ष टिकाराज जोशीले वडा कार्यालयबाट दलित विशेष कार्यक्रमका लागि १ लाख ५० हजार रकम विनियोजन गरिएको बताए । उनले आफ्नो वडामा देवस्थली , पण्डित गाउँ र बिस्खेत गरि तीन दलित बस्ती रहेका जानकारी दिए ।
उक्त साढे १ लाख रकम तीन वटै टोलमा बराबर गरि विनियोजन गर्नुपर्ने भएपनि , उनीहरूकै सहमतिमा योभन्दा अघिल्लो आर्थिक वर्षको बजेटबाट बिस्खेतमा साँझा भवन निर्माण गरिएको र अहिलेको बजेट देवस्थली र पण्डित गाउँमा ७५ ÷ ७५ हजार विनियोजन गरिएको छ ।
स्वरोजगर कार्यक्रम अन्तर्गत बिस्खेतका हलिया मुक्त परिवारलाई बाटो निर्माण र खानेपानीका लागि १ लाख रुपैयाँ बजेट छुट्याइएको र आधा काम भइसकेको वडा कार्यालयले जनाएको छ ।
बिस्खेतको हलिया मु्क्त वस्ती पहिरोको जोखिम रहेकाले
तटबन्धका लागि वडा कार्यालयबाट प्रदेश सरकारलाई सिफारिस पठाएको समेत अध्यक्ष जोशीले बताए । त्यस्तै दलितको जोखिम वस्तीलाई सुरक्षित एकीकृत वस्ती बनाउनुपर्छ भन्दै आफूले पालिकामा आवाज उठाएको आएको पनि उनले जानकारी दिए ।
अध्यक्ष जोशीले समस्याको पहिचान पैरवी गर्दै आएको संस्था फियान नेपाललाई आर्थिक सहयोग गर्न समेत अपिल गरे ।
आफू भर्खरै निर्वाचित भएर आएको सुनाउँदै उनले दलितका समस्या समाधानका लागि आफू अग्रसर भएर काम गर्ने पनि बताए ।