कञ्चपुरका दुई गाउँपालिकामा जथाभाबी भुक्तानी, बेरुजु १२ करोड नाघ्यो
धनगढीः कञ्चनपुरका दुई गाउँपालिकामा जथाभाबी भुक्तानी हुने गरेको पाइएको छ। मनलाग्दी भुक्तानीकै कारण जिल्लाका दुई गाउँपालिकाको बेरुजु रकम बढेर १२ करोड नाघेको हो।
कञ्चपुरमा कुल ९ पालिकामध्ये ७ नगरपालिका र दुई गाउँपलिका छन्। महालेखा परिक्षकको पछिल्लो सार्वजनिक प्रतिवेदन अनुसार कञ्चपुरका दुबै गाउँपालिकाको बेरुजु बढ्दै गएको उल्लेख छ। लालझाडी गाउँपालिका ५८ लाख ५६ हजार बेरुजु देखिएको छ। असुल गर्नुपर्ने २१ लाख ८३ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ३३ लाख ५१ हजार तथा नियमित गर्नुपर्ने ३ लाख २१ हजार बाँकी बेरुजु रहेको छ।
पालिकाको गत वर्षसम्म ६ करोड ७३ लाख ९३ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परीक्षणबाट फस्र्याँैट एवं कायम भएको समेत हालसम्मको अद्यावधिक बेरुजु ७ करोड ३२ लाख ४९ हजार रहेको छ। त्यस्तै यस्तै बेलडाँडी गाउाँपालिकाले पनि जथाभाबी भुक्तानी गर्ने कामलाई निरन्तरता दिएको पाइएको छ।
सो पालिकाको ४८ लाख ८७ हजार बेरुजु देखिएको छ। असलु गर्नुपर्ने ६ लाख ५८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १० लाख १० हजार र नियमित गर्नुपर्ने ३१ लाख १९ हजार रहेको हो। गत वर्षसम्म ५ करोड ४५ लाख ९० हजार बेरुजु बाँकी रहेकोमा समायोजन र सम्परीक्षणबाट फस्र्यौट एवं यस वर्ष कायम भएको बेरुजु समेत हालसम्मको अद्यावधिक ५ करोड ३६ लाख ७ हजार रहेको छ। जिल्लाका दुई गाउँपालिकाको १२ करोड ६९ लाख एक हजार ९ सय बेरुजु कायम रहेको प्रतिवेदनमा उल्लेख छ।