सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना बढ्दै, ५८ करोड ८० लाखका होल्डिङ सेन्टर अलपत्र

२०७९ चैत्र ३०, १०:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ। तर कोरोना महामारीका वेला भारतबाट स्वदेश फर्कने कोरोना संक्रमितलाई राख्नका लागि कैलालीको त्रिनगर भन्सार नाकानजिक बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छ।

धनगढी र भीमदत्तमा ५८ करोड ८० लाख खर्चेर निर्माण गरिएका भौतिक संरचना सरकारी वेवास्ताका कारण अलपत्र छन्। धनगढीमा २८ करोड ८१ लाख रुपैयाँको लागतमा बनेको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ।
कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक होल्डिङ सेन्टर निर्माण गरेको थियो।

सुरुमा तीन महिनाभित्र निर्माण गरिसक्ने सम्झौता रहे पनि करिब एक वर्षपछि गत साउनमा होल्डिङ सेन्टरको काम पूरा भएको थियो। नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो। २० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन्।

जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका हुन्। १४ वटा क्वारेन्टिन ब्लकमा तीन सयवटा शय्या राखिएका छन्। विगतमा कोरोना संक्रमणका दुवै लहरमा भारतबाट फर्केनेहरूलाई नाकामा परिक्षण र क्वारेन्टिन नराखी घर पठाउँदा सुदूरपश्चिमका गाउँगाउँमा संक्रमण फैलिएको पाइएपछि त्यस्तो अवस्थामा संक्रमितलाई राख्न होल्डिङ सेन्टर स्थापना गरिएको हो।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण भएको संरचना एक वर्षदेखि अलपत्र छ। एक हजार बढीलाई राख्न सकिने क्षमताको उक्त होल्डिङ सेन्टर सञ्चालनका विषयमा अझै पनि अन्योलता रहेको छ। ५० बेड क्षमताका २२ वटा ठूला संरचना, ३ वटा भान्साघर र १२ डाइनिङ हल तथा २२ वटा शौचालय गरी ५९ वटा संरचनाहरू निर्माण भएका छन्।

भवनभित्र बेडदेखि कुर्सी टेबुलहरू पनि राखिएका छन्। तर तिनको रेखदेख गर्नेसमेत कोही छैन। कोरोना संक्रमण तीव्र बढ्न थालेपछि सरकारले २९ करोड ९९ लाखमा नेपाली सेना मातहत गतवर्ष उक्त होल्डिङ सेन्टर निर्माण गरेको थियो। भारतबाट घर फर्किनेहरूमा संक्रमण देखिए सोही क्षेत्रका होल्डिङ सेन्टरमा होम आइसोलेसनमा राख्ने लक्ष्य राखिएको थियो।

‘हामीले गतवर्ष नै निर्माण सकेर नेपाली सेनालाई हस्तान्तरण गरेका हौं,’ होल्डिङ सेन्टर निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका परियोजना प्रबन्धक लक्ष्मण सापकोटाले भने, ‘गतवर्ष साउनमै हामीले सबै काम सम्पन्न गरिसकेका थियौं।’ उनका अनुसार ठूला भवनमा बेडदेखि आवश्यक सबै सामग्री राखिएको छ।

होल्डिङ सेन्टर सञ्चालनबारे रक्षा मन्त्रालयले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। उनका अनुसार मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली गठन भएर अध्ययनको काम भइरहेको छ। गत साता उक्त टोलीले महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको पनि अनुगमन गरेको थियो। एक हजार क्षमताको उक्त संरचनालाई ३० प्रतिशत होल्डिङ सेन्टरकै रूपमा र बाँकी संरचनालाई लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनरस्थापना केन्द्र बनाउन, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने गरी सुझाव दिइएको हो।

कमेन्ट लोड गर्नुस