सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानलाई मार्ने धम्की 

२०७९ चैत्र २९, ०३:५३ खबर संवाददाता

एजेन्सीः बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

मुम्बई प्रहरीले ठाणे जिल्लाका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। १६ वर्षीय नाबालिगले कन्ट्रोल रुममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ। मुम्बई प्रहरीको मुख्य कन्ट्रोल रुममा सोमबार राति धम्कीपूर्ण कल आएको थियो।

कल गर्ने व्यक्तिले फोनमा सलमान खानलाई ३० अप्रिलमा मार्ने बताएको र त्यसको जानकारी सलमानलाई दिने आग्रह गरेपछि फोन काटेको एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ। अनुसन्धान थालेको प्रहरीले नम्बर ट्र्याक गर्दा उक्त फोन ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लागेको थियो।

प्रहरी अधिकारीका अनुसार यस मामिलामा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) पनि संलग्न थियो। सीआईयूका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पद युवकलाई पक्राउ गरेको थियो। प्रहरीले संदिग्धलाई नियन्त्रणमा लिएर उनको फोन चेक गर्दा कन्ट्रोल रुममा फोन गरेर सलमानलाई ज्यान मार्ने धम्की दिएको पाइएको थियो।

धम्की दिनुको मनसायबारे अनुसन्धान भइरहेको छ। जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका थिए।
 

कमेन्ट लोड गर्नुस