सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी जिप दुर्घटना : मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग

२०७९ चैत्र २९, ०२:२४

धनगढीः नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बैतडीको झ्याउलेकमा जिप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकको सुरूमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरूको मृत्यु भएको भन्दै तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन्।

मंगलवार राति जिप दुर्घटना भएको थियो।  दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीले बताए।  उनीहरू सबै एकै गाउँका हुन्। जिपमा सवार पाँचजना सकुशल छन्।

सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शवसमेत बुझेका छैनन्। सांसद जोशीले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा लास राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन। तर सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ। 


 

कमेन्ट लोड गर्नुस