ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु, दुई घाइते
बैतडी: बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मंगलबार साँझ ७ बजेतिर धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय सङ्ग्रामसिंह धामी रहेका छन्। घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।