सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना ग्राफ बढ्दै, दुई सातामै थपिए एक सय संक्रमित

२०७९ चैत्र २६, १०:५५

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमण पुनः बढ्दै गएको छ। प्रदेशभित्र दुई साता नपुग्दै संक्रिय संक्रमितको संख्या एक सय नाघेको छ। सबैभन्दा बढी भारतबाट फर्कनेहरुमा कोरोना देखिने गरेपछि सीमा क्षेत्रमा कोरोना परिक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयको दाबी छ। संभावित महामारीलाई मध्यनजर गरी परिक्षण तीव्र पारिएको अधिकारीहरुले बताएका छन्।

सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ। नयाँ वर्ष र बिसु पर्व मनाउन छिमेकी भारतबाट धमाधम घर फर्किंरहेका सुदूरपश्चिमेलीहरुमा कोभिड देखिन थालेको हो। भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि यहाँ पनि कोरोना संक्रमण तीव्र भएको छ।

पछिल्ला दुई सातायता कोभिड संक्रम बढ्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए। ‘सुदूरपश्चिम प्रदेशका आधिकारीक पाँच वटा नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोभिड देखिन थालेको छ। भारतमा जसरी संक्रमण दर बढीरहेको छ त्यहाँबाट नेपाल फर्कनेहरुमा पनि संक्रमण देखा पर्न थालेको छ।’

सुदूरपश्चिमेलीहरूको बिषु पर्व पनि नजिकिँदै गएकाले भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। त्यससँगै संक्रमणदर पनि वृद्धि भएको छ।
भारतका विभिन्न सहरहरूमा संक्रमण बढेकाले सीमा नाकामा परीक्षणमा जोड दिइएको जोशी बताउँछन्। उनले खोप अभियानलाई पनि निरन्तरता दिइएको बताए।

भारतको उत्तर प्रदेश, दिल्ली र मुम्बईलगायत क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। उक्त क्षेत्रबाट घर फर्किने नेपालीहरूमा पनि संक्रमण देखिइरहेको छ। नाकामा संक्रमण देखिएका व्यक्तिलाई सोझै घर पठाउँदासमेत जोखिम बढेको छ। उनीहरू सार्वजनिक यातायातबाट घर जाने गरेका छन्।

केही दिनयता पूर्णागिरि मेलाका कारण गड्डाचौकीसँगै ब्रहृमदेव नाकामा दर्शनार्थीको घुइँचो छ। एकै दिन १५/२० हजारको संख्यामा दर्शनार्थी आउने गरेका छन्। यसले समेत संक्रमणको जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सीमा क्षेत्रमा कोरोना पोजेटिभ भेटिएकालाई पनि सिधै घर पठाइने गरेको छ। उनीहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ।

सार्वजनिक बस चढेरै उनीहरू गाउँ फर्किने गरेका छन्। त्यसकारण पनि गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ। कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १६ दिनमा एन्टिजेन परीक्षणबाट ६३ जनामा कोरोना संक्रमण फेला परेको छ। भारतमा कोरोना संक्रमण बढेसँगै त्यहाँबाट घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजारको संख्यामा स्वदेश फर्किन थालेका छन्। गौरीफन्टा, गड्डाचौकी र बेलौरी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकामा प्रदेश सरकारले हेल्थ डेस्क राखेको छ।

कोभिड संक्रमण बढेपनि आत्तिनुपर्ने अवस्था नभएको स्वास्थ्य निर्देशक जोशीले बताए। हेल्थ डेस्कमा भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण गरिन्छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सीमा नाकाहरूमा एन्टिजेन कीटहरू पर्याप्त पठाएको भए पनि सीमा नाकाबाट परिक्षण नगरेरै गाउँ पस्नेको संख्या बढ्दो छ।

कमेन्ट लोड गर्नुस