कैलालीका होटलमा २० अर्ब लगानी, करको डरले खुलेन ‘फाइभ् स्टार’
धनगढीः धनगढीमा तीन होटलको स्टार सेवा दिने योजना छ। होटल डिभोटी र साथी तथा सञ्चालनको तयारीमा रहेको मार्वलसँग स्टार सेवाको योजना छ। तर सरकारले स्टार होटलबाट कर बढी लिने गरेको भन्दै उनीहरुले प्रक्रिया रोकेका छन्। धनगढीको होटल डिभोटी ‘थ्री स्टार’ तथा साथी र मार्वलले ‘फाइभ् स्टार’को कानूनी मान्यताको प्रक्रिया थालेका हुन्।
तर करको डरमा उनीहरु छन्। होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले होटल डिभोटीले ‘थ्री स्टार’को प्रक्रिया थालेको भएपनि स्थगन गरेको बताए। उनले भने, ‘देशको अर्थतन्त्रको मेरुदण्ड होटल व्यवसाय हो। पर्यटन व्यवसाय हो। तर कैलालीमा पर्यटकका लागि स्तरीय होटल छैनन्। स्टार होटल एउटा पनि छैन्। पर्यटकहरु गुगलमा हेर्छन्। तर कैलालीमा स्टार लेभलको पाउदैनन्। पर्यटकहरु होटल पाउदैनन्। यता आउदैनन्। पोखरातिर जान्छन।’
कैलालीमा दुई हजार पाँच सय बढी साना र मध्यम होटल सञ्चालनमा छन्। जिल्लाभित्र सञ्चालित होटलहरुले स्तरीय सेवा दिदै आएको दाबी छ। तर कानूनी रुपमा कैलालीमा कुनै पनि होटलले स्टारको मान्यता लिएका छैनन्।
स्टार होटलको कर बढी हुने भन्दै व्यवसायीहरु डराइरहेका छन्। सरकारले स्टार होटलबाट कर बढी लिने गरेको गुनासो व्यवसायीको छ। उनीहरुले स्टार होटल सञ्चालनका लागि सरकारी पक्षबाट कुनै सहयोग नभएको गुनासो गरेका छन्। अध्यक्ष बमले स्टार होटल सञ्चालनका लागि सरकारले सुविधा दिनुपर्ने बताए। ‘धनगढीका होटलमा लगानी छ। तर स्टारको मान्यता छैन्। राज्यको कर नीति नै व्यवहारिक नभएका कारण स्टरमा जान सकिएको छैन,’ उनले भने।
धनगढीसहित जिल्लाभित्र सञ्चालित होटलमा २० अर्वको लागानी रहेको अनुमान गरिएको छ। धनगढी, अत्तरिया, लम्की, टीकापुर, सुखड, खानीडाँडा लगायत क्षेत्रका होटलहरुमा १६ हजारले रोजगारी पाएको व्यवसायी बताउँछन्। जिल्लाभित्र होटलको संख्या धेरै भएपनि स्तरीय होटल छैनन्। कानूनी रुपमा स्तरीय होटल कैलालीमा नभएकाले विदेशी पर्यटक नेपालका अन्य क्षेत्रमा मात्र आउने गरेको होटल व्यवसायीको दाबी छ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले सुदूरपश्चिममा पर्यटकका लागि स्तरीय होटलको अभाव रहेको बताए। सुदूरपश्चिमको पर्यटन विकासमा तीन तहका सरकारको नीति राम्रो नभएको तर्क होटल व्यवसायीहरुको छ। नीतिगत सुधार गरे स्तरीय होटल सञ्चालनका लागि लगानी बढाउन तयार रहेको व्यवसायी बताउँछन्। कैलालीमा अहिलेसम्म स्टार लेभलको होटल नहुँदा विदेशी पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन्।