सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको निगरानी गर्न तीन स्थानमा स्वचालित क्यामेरा जडान

२०७९ चैत्र २५, ०१:३६ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन्। पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीनवटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले बताए।

उनका अनुसार पुनर्वास नगरपालिका–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ। यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो।

चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो।

पनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन्। उनीहरु त्रासले रातभर जाग्राम बस्न बाध्य छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए। अहिले पर्याप्त मात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ।

कमेन्ट लोड गर्नुस