सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साढे २० किमीभित्र खानेपानी पाइप विस्तार हुँदै, विद्युतको टुंगो लागेन

२०७९ चैत्र २४, ११:१५ कमल सावद

धनगढीः क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा निर्माण थालिएको सडकमा खोपानीका पाइप विस्तारको काम सुरु भएको छ। एसियाली विकास बैँक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीमा १० किलोमिटर सडक निर्माण गर्दैछ।

१० किलोमिटर सडक दायाँबायाँ खानेपानीका पाइप विस्तार योजनाअन्तर्गत काम सुरु भएको छ। २० दशमलव पाँच किलोमिटर खानेपानीको पाइप विस्तारका लागि ठेक्का सम्झौता गरिएको छ। लामो समयदेखि खानेपानीका पाइप विस्तार गर्नुपर्ने क्षेत्रमा विवाद थियो। विवाद समाधान भएपछि अहिले काम सुरु गरिएको हो।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कालोपत्र गरिएको र गर्न बाँकी सडकको दुबैतिर खानेपानी पाइप विस्तारको काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ। धनगढीको सहिदगेट–क्याम्पस गेट सडकमा पाइप विस्तारको काम थालिएको छ। सडकको नालीभन्दा बाहिरबाट खानेपानीको पाइप विस्तार गरिदैछ।

निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले खानेपानी पाइप विस्तारको काम सुरु भएको बताए। उनले भने, ‘खानेपानी पाइप विस्तारको काम सुरु भएको छ। सबै सडकमा खानेपानीका पाइप विस्तार गर्नेछौ।’ धनगढीमा सातवटै सडकको १० किलोमिटरभित्र सडक कालोपत्र, खानेपानीका पाइप विस्तार तथा विद्युत लाइन विस्तारको योजना छ।

क्षेत्रीय सहरी विकासले एक करोड ५० लाखमा १० किलोमिटर सडकको दुबैतिर पानेपानीका पाइप विस्तारको काम सुरु गरिसकेको आयोजना कार्यालयले जनाएको छ। धनगढीभित्र सात सडकको १० किलोमिटर कालोपत्र गर्न ६८ करोड ५ लाख ९८ हजारमा निर्माण सम्झौता गरिएको थियो। एक करोड ५० लाखको खानेपानीका पाइप विस्तारका लागि नयाँ सम्झौता गरिएको हो। धनगढीको मुख्य सडकमा विद्युत विस्तारको भने अझै टुङ्गो लागेको छैन।

विद्युतको समस्या समाधानका लागि चैत २८ गते छलफल रहेको  कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले बताए। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडक, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडकको दुबैतिर खानेपानीको पाइप विस्तार गरिनेछ। चार र पाँच इन्चका पाइपबाट उपभोक्ताको घर–घरमा धारा जडान गरिनेछ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस