सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक हजार २ सयको आँखाको उपचार

२०७९ चैत्र २३, ०२:१० खबर संवाददाता

धनगढीः अछामको साँफेबगरमा सञ्चालित आँखा शिविरमा १ हजार २ सय बढीले उपचार सेवा प्राप्त गरेका छन्। साँफेबगर नगरपालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा ह्यामर रोटरी क्लब नर्वेको सहयोगमा चैत्र १९ देखि २२ गतेसम्म अछाम जिल्लाको बयालपाटा अस्पतालमा सञ्चालित आँखा शिविरमा १ हजार २०सय ८ जनाले आँखा उपचार सेवा लिएका हुन्।

उपचार सेवा पाउने मध्ये २११ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ। उक्त शिविरमा साँफेबगर नगरपालिकाको सहयोगमा ५७५ जनालाई निःशुल्क चश्मा उपलब्ध गराउनुको साथै ४२२ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको थियो। 

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरी रहेका व्यक्तिले उपचार सेवा पाएका छन्।
गेटा आँखा अस्पतालका प्रमुख एवं वरिष्ठ नेत्र विशेषज्ञ डाक्ट सुरेशराज पन्तको नेतृत्वमा सञ्चालित शिविरमा १४ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए।

आँखा शिविर सञ्चालनमा बयालपाटा अस्पताल र साँफेबगर नगरपालिकाका कर्मचारी, पदाधिकारी तथा स्थानीय समाज सेवीहरुले सहयोग गरेको गेटा आँखा अस्पतालले जनाएको छ।

सुदूरपश्चिममा अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा सञ्चालित २१ वटा आँखा उपचार केन्द्रबाट नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाएर प्रदेशका विभिन्न ठाउँमा आँखा उपचार शिविर सञ्चालन गर्दै आएको गेटा आँखा अस्पतालले जनाएको छ।

प्रदेशका ९ वटै जिल्लाका ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। साथै, आर्थिक अभावको कारणले कसैले पनि अन्धकारमय जीवन बिताउनु नपरोस भनी मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई सहयोगी संस्था तेज कोहली रुईत फाउण्डेशनको सहयोगमा गेटा आँखा अस्पताल तथा अन्तर्गतका आँखा अस्पताल महेन्द्रनगर, आँखा अस्पताल टीकापुर, आँखा अस्पताल डडेल्धुरामा नियमित आँखाको शल्यक्रिया सेवा सञ्चालनमा रहेको छ।

यस्तै, सर्जिकल सेन्टर धनगढी बुद्धमन्दिरमा प्रत्येक बिहिवार र बेलौरीमा महिनाको अन्तिम बुधवार बिरामीहरुका लागि मोतिविन्दुको बिना टाँका हातले गरिने अप्रेशन निःशुल्क भई रहेको अस्पतालले जनाएको छ।

         
  


 

कमेन्ट लोड गर्नुस