लागतअनुसारको बिक्री मूल्य नपाएपछि ट्याक्टरले जोतेर तरकारी खेती नस्ट
लागतअनुसारको बिक्री मूल्य नपाएपछि बाराको निजगढका किसानले तरकारी खेती नै नस्ट गर्न थालेका छन्। उत्पादित तरकारीको मूल्य घटेर बजारसम्म र्पुयाउन ढुवानी खर्चसमेत नउठ्ने भएपछि पछिल्लो समयमा किसानहरु तरकारी खेती नै नस्ट गर्ने अवस्थामा पुगेका हुन्। निजगढ नगरपालिका–९, शान्तिटोलका किसान चन्द्रप्रसाद बिडारीले खेतमा रोपेको बन्दाकोभीमा ट्याक्टरले जोतेर नस्ट गरेका छन्। १५ कट्ठामध्ये तीन कट्ठाको बन्दाकोभी बिक्री गर्न उनलाई निक्कै हम्मे–हम्मे प¥यो। बाँकी १२ कट्ठामा लगाएको तरकारी उनले ट्याक्टरले जोतेर नस्ट गरेका छन्। भारतीय तरकारीको बढ्दो आयातले नेपाली तरकारीले बजार भाउ नपाउँदा तरकारी नस्ट गर्नुपरेको उनको गुनासो छ। तरकारी खेती गर्ने जिल्लाका सयौं किसानको समस्या पनि यस्तै रहेको उनले बताए। सरकारले किसानले उत्पादन गरेको तरकारीलगायत अन्य खाद्यान्यको सहज बजारसँगै उचित मूल्य निर्धारण गर्न नसकेको किसानहरुको गुनासो छ। बाराको सिम्रौनगढ, बारागढीलगायतका ६ स्थानीय तहमा अधिकांश किसानले तरकारी खेती गर्दै आएका छन्। साभार - इमेजखबर