सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोरमैला व्यवस्थापका लागि शुक्लाफाँटामा काम सुरु, भीमदत्तको बजेट फिर्ता

मदन चाेक
मदन चाेक । फोटो स्रोत ।
२०७९ चैत्र २२, ०४:१७ खबर संवाददाता

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम सुरु भएको छ। एसियाली विकास बैंकको ग्रामीण सहरी विकास परियोजना (आरयूडीपी) अन्तर्गत झन्डै २७ करोडमा व्यवस्थापन केन्द्र निर्माण हुन लागेको हो। 

नगरपालिकाको वडा नम्बर ११ को श्रीकृष्ण सामुदायिक वनमा व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको छ। यसका लागि ५ हेक्टर वन क्षेत्रका ८ सय २१ रूख कटानका लागि डिभिजन वन कार्यालयले एक महिनाअघि नै कटान आदेश दिइसकेको छ। नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रमण केएस जेभीसँग २६ करोड ७७ लाखमा सम्झौता भएको छ।

२० महिनामा निर्माण कार्य सक्ने गरी २०७९ जेठमा सम्झौता भएको हो। पहिलो चरणमा गत सातादेखि रूख कटानको काम सुरु भएको छ। सम्झौता भएको १० महिनापछि निर्माण कार्यले गति लिएको नगरप्रमुख रणबहादुर महराले बताए। मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नपर्ने गरी निर्माण भइरहेको फोहोरमैला व्यवस्थापन केन्द्रलाई एक पर्यटकीय स्थलसमेत बनाउने योजना छ।

उक्त क्षेत्रमा पार्कसमेत निर्माण गरिनेछ। शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रसँगै साढे ४ किलोमिटर सडक र प्रशासनिक भवन निर्माणको काम पनि चलिरहेको छ। सडक र भवन निर्माणको काम अन्तिम चरणमा रहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए।

उनका अनुसार ४ दशमलव ७७ किलोमिटर सडक निर्माणका लागि २७ करोड ८७ लाख र प्रशासनिक भवन निर्माणका लागि १० करोडमा ठेक्का भएको छ। शुक्लाफाँटामा ढिलो गरी फोहोरमैला व्यवस्थापन केन्द्रको काम सुरु भए पनि भीमदत्तमा अझै सुरु भएको छैन।

भीमदत्त नगरपालिकामा व्यवस्थापन केन्द्रसँगै झन्डै ३५ किलोमिटर स्तरीय सडकसमेत निर्माण हुनेछ। जसमध्ये एक अर्ब लागतमा १४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ। नगरपालिकाले जमिन अभावका कारण फोहोरमैला व्यवस्थापन केन्द्रको काम अगाडि बढाउन सकेको छैन। 

आधुनिक सडक निर्माणसँगै फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका ईन्जिनियर हिमालयसिंह ऐरले बताए। ‘प्रशोधन केन्द्रका लागि एडीबीबाट ५० करोड बजेट आएको थियो नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो’ उनले भने ‘अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको छ।’

कमेन्ट लोड गर्नुस