सेतीमा विपन्नलाई उपचार पाउनै सास्ती, भगवान भरोसामा बिरामी
धनगढीः बझाङको दुर्गाथली गाउँपालिका–१ का सत्यराज रावल आमालाई उपचार गर्न सोमवार राति १२ बजे सेती अस्पताल पुगे। पक्षघात भएकाले तुरुन्त सिटिस्क्यान गर्नुपर्ने भन्दै बझाङ जिल्ला अस्पतालबाट रावल आमालाई लिएर धनगढी पुगेका हुन्। तर ३ घण्टासम्म दौडधुप गर्दा पनि सेतीमा रावलको आमाको सिटिस्क्यान हुन सकेन। स्वास्थ्य बिमा भएको बताउने रावलले टिककाउन्टरमा गएर बिल काटे पनि सिटिस्क्यान गराउन गराउन सकेनन्।
‘राति १२ बजे अस्पतालमा पुगेर आकस्मिक कक्षमा आमालाई डाक्टरले तुरुन्त सिटिस्क्यान गर्ने भने तर मैले सेतीमा सिटिस्क्यान गराउन पाएन,’ आकस्मिक कक्ष र टिकट काउन्टर ओहोरदोहोर गर्दा तीन घण्टा बित्यो। केही सीप नचलेपछि निसर्ग अस्पतालमा गएर सिटिस्क्यान गर्नुप¥यो।’ रावलले सेतीमा सिटिस्क्यान गर्न पाएको भए २ हजार ५ सय मात्रै खर्च हुने भए पनि निजिमा जाँदा ५ हजार सिटिस्क्यान गरेको र एक हजार एम्बुलेन्स खर्च तिर्नुपरेको बताए।
सेतीमा सिटीस्क्यान गर्न नपाएका सत्यराजले अस्पताल फार्मेसीमा आफ्नी आमालाई लगाउनुपर्ने इन्जेक्सन पाएनन्। ३० रुपैयाँ मूल्य पर्ने इन्जेक्सन फार्मेसीमा नपाउँदा आज बिहान बाहिरको मेडिकलबाट ल्याएको बताए। सेतीमा शय्या पाउनै मुस्किल कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका लालमनि चौधरीकी साढे तीन वर्षीया छोरीलाई रक्तअल्पताको समस्या छ।
सोमवार ११ बजे अस्पताल पुगेका चौधरीको छोरीको अस्पतालमा उपचार भइरहेको छ। चौधरीले अस्पतालको उपचार सेवा राम्रो भए पनि वार्डमा भने छोरीका लागि शय्या पाएका छैनन्। बाल वार्डमा दुई बेञ्च आपसमा जोडेर चौधरीले छोरीका लागि सुत्ने ठाउँ बनाएका छन्। त्यस्तै, बझाङका सत्यराज रावलकी आमालाई अस्पतालमा भर्ना गर्नुपर्ने भए पनि शय्या अभावले उनको आकस्मिक कक्षमै उपचार भइरहेको छ। वार्डमा शय्या खाली हुनासाथ बिरामीलाई वार्डमा सिफ्ट गर्ने आकस्मिक कक्षमा भेटिएका स्वास्थ्यकर्मीले बताए।
आइसियु पाउन झन सास्ती
मङ्गलवार बिहान ८ः४३ मिनेटमा सेती अस्पतालमा डडेल्धुराका ५० वर्षीय हरजित बिष्टलाई ल्याइएको छ। रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेका बिष्टको कोहलपुर शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको पत्नी सीता बिष्टले बताइन्। नेपालगन्जमा उपचार भइरहेको भए पनि आफन्तले सेतीमा उपचार गर्दा कम खर्च हुने भन्दै ल्याइएको भए पनि उनी अचेत अवस्थामा सेतीको आकस्मिक कक्षमा छन्।
सेतीमा रहेका १५ आइसियु खाली नहुँदा विष्टलाई कि निजि अस्पतालमा लग्नुपर्ने नत्र आइसियु खाली नहुन्जेल आकस्मिक कक्षमा राख्नुपर्ने अवस्था छ। नेपालगन्जमा उपचार गर्दा २ लाख २० बढी खर्च भएको बताउने बिष्टले निजिमा लगेर उपचार गर्नसक्ने अवस्था नभएको गुनासो गरिन्।
उपचार पाउन भगवान भरोसा
सेती अस्पतालको उपचार सेवा राम्रो रहेको बिरामीहरूले प्रतिक्रिया दिएका छन्। बैतडीका जयसिंह बिष्टले सेतीको उपचार गुणस्तरीय भए पनि उपचार पाउन भने बरदान पाउनु सरह भएको बताए। उनले अत्यधिक बिरामी आउने भएकाले पालो पाउनै मुस्किल रहेको बताए। ‘सेतीको उपचार राम्रो छ। उपकरण राम्रा छन्।
विशेषज्ञ डाक्टर पनि छन्। तर, यिनलाई देखाउन पालो पाउन भने मुस्किल छ,’ उनले भने, ‘आएका बिरामी सबैले सजिलै उपचार पाउने व्यवस्था गर्न सरकारले काम गर्नुपर्छ।’ सेतीमा पहाडबाट आउने बिरामीले उपचार पाउनु भनेको उ भाग्यमानी हो भन्ने जस्तो लाग्छ। बिष्टले भाग्य राम्रो हुनेले मात्रै सेतीमा उपचार गराउने मौका पाउने अनुभव आफ्नो रहेको सुनाए।
बिरामीलाई थर्काउने स्वास्थ्यकर्मी
सेती अस्पतालका स्वास्थ्यकर्मीको बोली राम्रो नभएको बिरामी र तिनका कुरुवाको गुनासो छ। अस्पतालमा फार्मेसीका डाक्टरले लेखेको औषधि नपाउने समस्या रहेको बिरामीको गुनासो छ। राउन्डमा आउने स्वास्थ्यकर्मीदेखि सफाइ कर्मचारीले समेत बिरामीलाई थर्काउने, केही समस्या राख्दा झर्केर बोल्ने, सरसफाइमा ध्यान नदिने, लामखुट्टे र दुर्गन्धको कारण बिरामी झन बिरामी पर्ने अवस्था रहेको पाइएको छ। प्रदेशकै सबैभन्दा ठूलो अस्पताल भए पनि बिरामीले सेतीमा उपचार नपाएर निजी अस्पताल धाउनुपर्ने बाध्यता कायमै छ।