सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्ड फ्लू भेटिएपछि तीन हजार कुखुरा नष्ट

। फोटो स्रोत ।
२०७५ चैत्र २१, ०४:५२ खबर संवाददाता

भक्तपुरका सुर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएपछि २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ। 

फार्ममा २८ हप्ता पुगेका कुखरामा एच.वान.एन.वान बर्ड फ्लू भेटिएपछि प्रहरीको रोहबरमा २ हजार ९ सय ८५ कुखुरा, १५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा. चन्द्र ढकालले जानकारी दिए।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्ड फ्लू भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पुश चिकित्सिक डा. ढकालले जानकारी दिए। बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्किएर संक्रमणमुक्त गरिएको छ। 
उपभोक्ताले भने यसवर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गर्ने गरेको गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालयले बर्ड फ्लू न्यूनीकरणमा ध्यान दिन नसकेको उपभोक्तहारुले बताएका छन्।  यसअघि पनि २०७० सालमा भक्तपुरमा बर्ड फ्लूको संक्रमण फैलिएपछि हजारौ कुखुरा, चल्ला, अण्डा र दानाहरु नष्ट गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस