संक्रमण बढेसँगै बुस्टर खोप लगाउन सुरु
कञ्चनपुरः कोरोना संक्रमण देखा पर्न थालेपछि खोप दिने क्रम पनि सुरु भएको छ। अहिले ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरका अनुसार अहिले बुस्टर डोजका लागि फाइजरको ५० हजार मात्रा आएको छ। पहिलो चरणमा ५५ वर्षमाथिका व्यक्ति, स्वास्थ्यकर्मी लगायतलाई खोप दिइनेछ। जिल्लाका सबै वडामा खोप अभियान सञ्चालन भइरहेको कुँवरले बताए।
‘आवश्यकताअनुसार खोप आउने क्रम बढ्दै जानेछ,’ उनले भने, ‘दुई खोप लगाएकालाई तेस्रो र तीन खोप लगाएकालाई चौथो खोप दिइनेछ।’ संक्रमण बढ्न थालेपछि पुनः खोप अभियान सुरु गरिएको हो। कञ्चनपुरको सीमानाका गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा ६ जनामा संक्रमण देखिएको छ।