सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बित्थडचिरका अध्यक्ष मासिक ६० हजार तिरेर भतिजाको गाडी चढ्छन्

२०७९ चैत्र १७, ०२:४९ खबर संवाददाता

धनगढीः बझाङको बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महर निजी गाडी प्रयोग गर्ने गरेका छन्। अध्यक्ष महरले भतिजो नाता पर्ने सुरेश महरको गाडी चढ्ने गरेका छन्। गाउँपालिकाले गत भदौमा सवारी साधन भाडामा लिने प्रयोजनका लागि खोलेको सूचनामा सवारी चालक र मर्मतको व्यवस्था सवारी धनी आफैंले गर्नुपर्ने उल्लेख भए पनि गाडी चलाउन चालकको व्यवस्था गाउँपालिकाले नै गरेको छ।

सवारी धनीले चालकको व्यवस्था गर्नुपर्ने सर्त लत्याएर पालिकाले नियुक्त गरेको चालकले गाडी चलाउने गरेका छन्। गाउँपालिकाले भने अधिकतम १ लाखमा नबढ्ने गरी सवारी साधन भाडामा दिन इच्छुक व्यक्तिका लागि सूचना निकालेको र सूचनाअनुसार सबैभन्दा कम रकममा गाडी भाडामा दिन इच्छुक व्यक्तिको निवेदन स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले बताए।

‘हामीले सूचना निकालेर मासिक एक लाख घटीमा सवारी साधन भाडा लिन सूचना निकालेकोमा सबैभन्दा कम रकम हाल्ने व्यक्तिको निवेदन स्वीकृत भएको हो,’ उनले भने, ‘अब त्यो व्यक्ति मेरो भतिजो पर्यो त के गर्ने? अब नयाँ आर्थिक वर्षमा आफ्नै गाडी खरिद गर्छौँ।’

गाउँपालिकाले ६० हजार मासिक भाडा बुझाउने र चालकको व्यवस्था सवारी धनीले गर्ने सर्त भए पनि सवारी धनीले चालकको व्यवस्था नगरेको बताइएको छ। तर पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट भने सवारी चालकका रुपमा अध्यक्षका भतिजाले नै गाडी चलाउने गरेको बताए।

कमेन्ट लोड गर्नुस