भीमदत्त नगरपालिकाद्धारा राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई सम्मान
महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका ३ जना खेलाडीलाई सम्मान गरेको छ।
विहिवार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी, भीम सार्की र सन्दिप जोरालाई जनही १ लाख ५१ हजार नगद राशिसहित सम्मान गरेको हो। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत केही साताअघि काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै भीमदत्त नगरपालिकाले टोलीका महत्वपूर्ण खेलाडी ऐरी,सार्की र जोरालाई सम्मान गरेको हो।
केहि दिनअघि नगर प्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशीले नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडी ऐरी, सार्की र जोरालाई जनही १ लाख ५१ हजार नगद सहित सम्मान गर्ने प्रतिवद्धता गरेका थिए। खेलाडीहरुलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले संयुक्त रुपमा टीका,खादा तथा प्रशंसापत्र सहित नगद जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कारले सम्मान गरेका हुन।
खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख बोगटीले राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र ऐरी, भीम सार्की र सन्दिप जोराले भीमदत्त नगरपालिकाको मात्र नभई देशकै शिर उचो पार्नुभएकोमा बधाई तथा धन्यवाद दिएका थिए। ‘तपाईहरुले भीमदत्त नगरपालिकाको मात्र नभई देशकै शिर उचो पार्नुभएकोमा तपाईहरुलाई बधाई तथा धन्यवाद व्यक्त गर्न चाहान्छु।’
नगर प्रमुख बोगटीले भने। नगरपालिकाले खेलाडीहरुको प्रोत्सान र खेलकुदको विकासका लागि आगामी दिनमा बजेट र विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता गरे। उनले भने ‘भीमदत्त नगरपालिकामा खेलाडी र खेलकुदो विकासका लागि खेलाडी,खेलप्रेमी तथा खेलकुदसंग सम्वन्धित संघ संस्थाहरुसंग नगरपालिकाका सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको छ।’
सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भीम सार्कीले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको बताए। यस्तै नगरपालिकाले आफूहरूलाई सम्मान गरेर आगामी दिनमा क्रिकेट खेल्न आफु र नयाँ खेलाडीहरुलाई थप हौसला मिलेको बताए ।