बैतडीको झुलाघाटमा कडाई, कोरोना परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने
बैतडीः बैतडीको झुलाघाटमा भारतबाट नेपाल फर्किनेहरुको स्वास्थ्य परिक्षणमा कडाई गरिएको छ।
भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सीमा नाकामा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए। भारतबाट स्वदेश फर्कने हरेक नागरिकको सीमा नाकामा रहेको हेल्थ डेस्क मार्फत नियमित रुपमा एन्टीजेन विधिबाट कोरोना परीक्षण भइरहेको सूचना अधिकारी लेखकले बताए।
मंगलबार मात्रै सीमा नाकाबाट नेपाल आउन लागेका एकजना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएपछि नाकामा कडाई गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। मंगलबार त्रिपुरासुन्दरी जात्रामा सहभागी हुने उद्देश्यसहित नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाएको थियो।
सीमा नाकाबाट स्वदेश फर्कनेहरुलाई अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ। सीमा नाकामा कोरोना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएपछि मास्क अनिवार्य गरिएको सूचना अधिकारी लेखकले बताए। झुलाघाट नाकाबाट अहिले बिसु पर्व तथा नयाँ वर्ष मनाउँनका लागि घर फर्कनेको संख्या बढेको छ।
स्वदेश फर्कनेहरुलाई अनिवार्य मास्क लगाएर मात्रै प्रवेश गर्न दिने र उनीहरुको कोरोना परीक्षण गर्ने गरिएको बताइएको छ।