सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २८ करोडको ‘सिटीहल’ प्रयोग विहीन, कार्यक्रम होटलमा सञ्चालन हुँदै

फोटो : सविता बुढा
फोटो : सविता बुढा
२०७९ चैत्र १६, ०३:०२ कमल सावद

धनगढीः धनगढीमा २८ करोडको लागतमा निर्माण भएको ‘सिटीहल’ प्रयोग विहीन छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा ‘सिटीहल’ निर्माणको काम पूरा भएपनि सञ्चालनमा आएको छैन। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण थालिएको धनगढीको सभा गृह २८ करोडमा निर्माण भएको थियो। गत असारमा निर्माण पूरा भएको सभाहल सञ्चालनको कार्यविधि नभएकाले प्रयोग विहीन भएको हो।

स्थानीय तह वा प्रदेश सरकार कुन निकायलाई हस्तान्तरण गर्ने भन्ने निणर्य नभएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बताएको छ। इकाईका प्रमुख रमेश थिङले सञ्चालनको मापदण्ड तयार नभएको बताए। उनले भने, ‘विभाग मापदण्ड बनाउँदैछ। धनगढीसहित अन्य ठाउँमा पनि सभाहल निर्माण भएका छन्। सबै सभाहल सञ्चालनका लागि मापदण्ड बनाउन थालिएको हो।’

धनगढीमा सभा गृह (सिटी हल) निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको थियो। सभा गृह निर्माणका लागि पटक–पटक समय थप गरिएकोमा गत असारमा काम सकिएको हो।

धनगढी उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गर्ने भनिएको भए पनि अहिले मापदण्ड नभएको भन्दै हस्तान्तरण नगरिएको उनले बताए। उनले भने, ‘सञ्चालनका लागि कोलाई दिने भन्ने निर्णय भएको छैन। विभाग मापदण्ड बनाउँदैछ। मापदण्ड बनाएपछि हामी सञ्चालनका लागि हस्तान्तरण गर्छौँ। अहिले निर्माण कम्पनीले हेर्दैछ।’

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ मा एक  बिघा क्षेत्रफलमा निर्माण गरिएको सभाहलमा एक साथ करिब एक हजार जना अटाउने क्षमता छ। आपांगमैत्री बनाइएको हलमा अन्डरग्राउण्ड पार्किङको सुविधा छ। मुख्य तथा अडिटोरियम हलमा ७ सय जना अट्ने सेमिनार हल रहेको छ। सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको छ। तर, सरकारले निर्माण गरेको सिटी हल प्रयोग विहीन भएपछि होटलहरुमा कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सरकारी तथा गैर सरकारी संस्थाहरुले ठुलो रकम होटलहरुलाई तिर्दै आएका हुन्।

निर्माण कम्पनीले सभाहल सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको छ। आयोजना कार्यान्वयन इकाले धनगढी उपमहानगरपालिका वा प्रदेश सरकार कुन निकायलाई हस्तान्तरण गर्नेमा अन्योल देखिएको हो।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस