सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाह जनतालाई कुराएर आफु पार्टीको कार्यक्रम व्यस्त 

२०७९ चैत्र १६, ०८:३७ खबर संवाददाता

अछामः सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह अछामका नागरिकलाई कुराएर आफ्नो पार्टीको कार्यक्रममा गएका छन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध बरदादेवीको दर्शन गर्ने कार्यक्रम रहेको थियोे। मुख्यमन्त्री सहितको टिमलाई स्वागत गर्ने भनी फुलमाला सहित बसेका नागरिक मुख्यमन्त्री नआएपछि खिन्न हुदै घरघर लागे।

उनीहरुले आफ्नो मात्रै नभई वरदान कि देवी वरदादेवीको समेत अपमान गरेको भनेका छन्। अछामका गजेन्द्र खड्का सामाजिक सञ्जाल (फेसबुकमा)मा ‘पूर्व घोषित कार्यक्रम अनुसार मुख्यमन्त्री कमल बहादुर शाह ज्युको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा श्री बरदादेवी माताको दर्शन गर्न आउने कार्यक्रम अनुसार मुख्यमन्त्रीको स्वागतमा बसेका जनता उँहा कार्यक्रममा नआउँदा निरास भएका छन्। नेताको भरोसामा नपर्नु भन्ने कुरा यर्थाथ भएको छ। यसमा कुनै अछामको नेताको हात छ। त्यो समयले बताउला। जनताको भावना र आस्थामाथि खेलवाड गर्न हुँदैन। नेता ज्युलाई चेतना भया। लेखेका छन्।’

यस्तै चेतमान तिरुवा लेख्छन् ‘आजको अपमान सहन गाह्रो भो मेरो हैन सिंगै गजराको, सहन सक्ने शक्ति गुमेको छ मेरो, याद रहने छ यो दिन जिवनमा।’ शिव तिरुवा लेखेका छन् ‘धन्यवाद छ सुदूरपश्चिम सरकार धन्यवाद छ अछामी नेता ज्युहरु गजराको मानिसहरुको त अपमान गर्यो साथै माता भगवतीको पनि अपमान गर्यो गजरा बासी तपाईहरुबाट टाढै छन्।’ 

मुख्य मन्त्री भएपछि मंगलबार पहिलोपटक सुदूरपश्चिमका पहाडी जिल्ला भ्रमणका लागि पुर्खौली थलो अछाम गएका मुख्यमन्त्री शाह मंगलबार अछामका बिभिन्न कार्यक्रममा गए। मुख्यमन्त्री मंगलबार बिहान बैधानाथ, श्रिकोट, साँफेबगर नगरपालिकाले गरेको सम्मान, नेपाली कांग्रेस अछाम १ प्रदेश सभा ‘क’ ले गरेको सम्मान, बयालपाटा अस्पतालको अनुगमन र साँफेबगर नगरपालिका वडा ३ सिद्धेश्वरमा रहेको प्रभा धमकोट माध्यमिक बिधालयमा श्रीमत् भागवत महायज्ञ समापन गरि बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध बरदादेविको दर्शन गर्ने कार्यक्रम रहेको थियो।

त्यसै अनुरुप बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राका नागरिकले मुख्यमन्त्री शाह सहितको टिमलाई स्वागत गर्न मंगलबार दिउँसो भर बाजागाजा र फुलमाला सहित तयार भईरहदाँ मुख्य मन्त्री शाह भने समय अभावको कारण देखाउदै त्यहा सहभागी भएनन्। तर मुख्यमन्त्री भने नेपाली कांग्रेस बान्नीगढीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रम गए, त्यसपछि मुख्यमन्त्री ५० मिटर दुरीमा रहेको बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भए। 


 

कमेन्ट लोड गर्नुस