सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङ मर्स्याङ्दी छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश

२०७९ चैत्र १५, ०८:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लव पुग्न सफल  भएको छ।

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ फाइनलमा  पुगेको हो। कागजात पूरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो। मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रीक गोल गरे। मनाङका लागिखेलको १२ औं मिनेटमा जीवन गुरुङले पहिलो गोल गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो। पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए। उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो। त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सिमित रहन पुगेको थियो।

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे। यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रीक पूरा गरे। खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे। मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दस हजार जिते। मनाङ अघिल्लो संस्करणको विजेता पनि हो। जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ।

विहिबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमीफाइनलको विजेतासँग मनाङले उपाधिका लागि खेल्ने छ। मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। 
 

कमेन्ट लोड गर्नुस