सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यकर्मीको आन्दोलनलाई पाँच संगठनको समर्थन

२०७९ चैत्र १५, ०१:१५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूको दबाबमूलक कार्यक्रममा पाँच संगठनहरुले समर्थन जनााएका छन्। तलब भत्ता पाउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम अघि बढाएका स्वास्थ्यकर्मीहरूलाई ५ वटा संघसङ्गठनहरूले समर्थन जनाएका हुन्।

नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलाली, नेपाल निजामती कर्मचारी सगंठन कैलाली, नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली, एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले समर्थन जनाएका छन। उनीहरुले विज्ञप्ति जारी गर्दै स्वास्थ्य कर्मचारीको आन्दोलनमा एक्येबद्धता जनाएका छन्।

८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने उल्लेख थियो। तर कर्मचारीले ६ महिनादेखि तलब पाउन सकिरहेका छैनन्।

‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाइने भएको छ,’ स्थानीय तहलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९–९–८ को निर्णयअनुसार अनुरोध छ।’

मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै सबै स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरेको थियो। तर पनि स्वास्थ्य सेवाका कर्मचारीले तलब पाउन सकिरहेका छैनन्। मन्त्रीस्तरले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिले स्वास्थ्य सेवाका कर्मचारी आन्दोलित छन्।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले दरबन्दीभन्दा बढी कर्मचारी रहेका कारण तलबभत्ता दिन समस्या भएको बताउँछन्।

‘स्वास्थ्य सेवाका कर्मचारीले असोजदेखि मासिक तलबभत्ता पाएका छैनन्। हामीलाई संघीय सरकारको सशर्त अनुदानबाट तलब प्राप्त हुन्छ’, उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या ५४ पुगेको छ।’

कमेन्ट लोड गर्नुस