सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज चैतेदशैँ : शक्तिपीठमा भक्तजनको भिड

२०७९ चैत्र १५, ०७:१३ खबर संवाददाता

धनगढी: चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा  देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भिड लाग्ने गर्छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ।

कमेन्ट लोड गर्नुस