सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा नाथ

२०७९ चैत्र १४, ०९:०१ खबर संवाददाता

धनगढीः राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिषेक नाथ सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट नाथ अध्यक्षमा सर्वसम्मत भएका हुन्।

उनी यसअघि युवा संघको नगर संयोजक थिए। अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा सञ्जय चापागाई र आयुष ओली चयन भएका छन्।

अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन्। १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ। पदाधिकारी तथा सदस्यहरुले मङ्गलवार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणपछि अध्यक्ष नाथले सबैलाई धन्यवाद दिएका छन्।

उनले राष्ट्रिय युवा संघ पार्टीको सेना जस्तै भएको बताउँदै जुनसुकै बेला पनि पार्टीको पक्षमा उभिएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। ‘राष्ट्रिय युवा संघ भनेको पार्टीको सेना जस्तै हो। सेना भन्दैमा लडाइँ, झगडा गर्ने अर्थमा बुझ्नु हुँदैन,’ नाथले भने, ‘पार्टीलाई उपमहानगरपालिकाभित्र अप्ठ्यारो पर्दा युवा संघ जहिल्यै पनि अगाडि बढ्नेछ। सबैको साथ, सहयोग र सल्लाहअनुसार नै अघि बढ्नेछौँ।’

कमेन्ट लोड गर्नुस