सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम–११ सेमिफाइनलमा

२०७९ चैत्र १४, ०७:०२ खबर संवाददाता

धनगढीः आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो।

सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रीक गोल गरे। सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए। खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे। उनले दोस्रो हाफमा ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे। उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते।

नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरु पाए पनि गोल गर्न सकेनन्। जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ। अब सुदूरपश्चिमले थ्री स्टार क्लवसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल चैत १६ गते हुनेछ। प्रतियोगिता अन्तरगत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लवले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन्।

खेल दिउसो ३ः३० बजे सुरु हुनेछ। मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख प्राप्त गर्नेछन्। प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ।

कमेन्ट लोड गर्नुस