सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय सरकारको बदमासी, कैलालीमा ८ पालिकाका स्वास्थ्य कर्मचारी आन्दोलित

२०७९ चैत्र १४, १०:४६ खबर संवाददाता

धनगढीः समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको दाबी तीन महिनाअघि नै गरिएको थियो। कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको दाबी थियो।

८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत दिइने उल्लेख थियो। तर कर्मचारीले ६ महिनादेखि तलब पाउन सकिरहेका छैनन्।
निर्णय कार्यान्वयन भएन
‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाइने भएको छ,’ स्थानीय तहलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९–९–८ को निर्णयअनुसार अनुरोध छ।’

मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै सबै स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरेको थियो। तर पनि स्वास्थ्य सेवाका कर्मचारीले तलब पाउन सकिरहेका छैनन्। मन्त्रीस्तरले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिले स्वास्थ्य सेवाका कर्मचारी आन्दोलित छन्। संघीय सरकारको बद्मासीकै कारण तलब सुविधा नपाएको भन्दै कैलालीमा ८ पालिकाका स्वास्थ्य कर्मचारी आन्दोलित छन्।
तलबका लागि संघर्ष
तलब सुविधा नपाएकै कारण कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द छ। स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन्।

विगत ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिर गर्ने र नगरपालिकाको प्रांगणमा कालोपट्टि बाँधेर धर्ना दिने दबाबमुलक कार्यक्रम अघि बढाएका छन्। 

माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रम धनगढीका स्वास्थ्यकर्मीहरुले अघि बढाएका छन्।

धनगढी उपमहानगर र जोशीपुर गाउँपालिकामात्र नभई कैलालीको टीकापुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले एक महिनादेखि, भजनी र गौरिगंगा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पुसमहिनादेखि तथा कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले माघदेखिको तलबभत्ता पाउन सकेका छैनन्।

जिल्लाको जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा कार्यरत कर्मचारीहरुले फागुनसम्मको सेवासुविधा प्राप्त गरे पनि अबको तीन महिनामा पाउनुपर्ने सेवासुविधाको बजेट अपुग रहेको जनाएको छ। लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकामा अहिले स्वास्थ्यकर्मीहरुको तलबभत्ता नियमित भएपनि यस महिनादेखि रोकिने सम्भावना रहेको छ।
धनगढीमा कर्मचारीको भार
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले दरबन्दीभन्दा बढी कर्मचारी रहेका कारण तलबभत्ता दिन समस्या भएको बताउँछन्। ‘स्वास्थ्य सेवाका कर्मचारीले असोजदेखि मासिक तलबभत्ता पाएका छैनन्। हामीलाई संघीय सरकारको सशर्त अनुदानबाट तलब प्राप्त हुन्छ’, उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या ५४ पुगेको छ।’

सम्बन्धित निकायमा पटक–पटक मौखिक र लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको र माग प्रति सम्वन्धित निकायले वेवास्ता गरेका कारण आन्दोलनका कार्यक्रम अघि बढाउनुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। जोशीपुरमा आक्समिक सेवाबाहेक अन्य सेवा बन्द हुँदा स्वास्थ्य केन्द्रमा पुगेका विरामीहरु अन्यत्र जानुपर्ने बाँध्यता रहेको छ।

सेवानै प्रभावित पार्ने नियत नभएपनि तलब भत्ता नपाउँदा समस्या भएकाले आन्दोलनका कार्यक्रम अघि बढाउनुपरेको कर्मचारीहरु बताउँछन्। स्वास्थ्य क्षेत्रको समस्यालाई यथासिघ्र व्यवस्थापनका लागि संघिय सरकारलाई दबाब दिईरहेको उपमहानगरपालिकाले जनाएको छ। संघीय सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई दिन्छौँ भनेको तलब त दिनु प¥यो नि। संघीय सरकारको सशर्त अनुदानबाट तलब उपलब्ध गराउँछौँ भन्ने अनि आधा वर्षसम्म तलब नै नदिएपछि स्वास्थ्य क्षेत्रमा कार्यरतकर्मचारी समस्यामा परेको उपमहानगरले बताएको छ।

 

कमेन्ट लोड गर्नुस