सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवनको लक्ष्य पूरा

२०७९ चैत्र १४, १०:१९ खबर संवाददाता

धनगढी: कैलालीमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवनको लक्ष्य पूरा गरिएको छ। हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो।

यस वर्ष २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको जनाएको छ। यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्यभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ लाख २६ हजारभन्दा बढी जनसङ्ख्या रहेको यो जिल्लामा यस वर्ष सात लाख ५९ हजार ६११ जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएका छन्। जुन ८१.९५ प्रतिशत प्रगति रहेको सो कार्यालयले जनाएको छ। यसअघि १० वर्षसम्म सञ्चालित आमऔषधि खुवाउने अभियानमा लक्ष्य पूरा भएको थिएन। लक्ष्य पूरा नभएका कारण वर्षैपिच्छे हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउनु परेको थियो।

११औँ पटकको अभियानमा लक्ष्यभन्दा बढीले हात्तीपाइले रोगविरुद्धको औषधि खाएकाले सम्भवतः हात्तीपाइले रोग निवारण हुने अपेक्षा प्रमुख धामीको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अभियान सफल भए÷नभएको टुङ्गो लगाउन सर्वेक्षण गर्ने जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा १९ हजार ७४२ (९०.५२ प्रतिशत), चुरे गाउँपालिकामा १७ हजार ७८८ (८१.१२ प्रतिशत), गोदावरी नगरपालिकामा ८३ हजार ८८६ (८१.८२ प्रतिशत) जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्। गौरीगङ्गा नगरपालिकामा ५५ हजार ४०८ (८३.५४ प्रतिशत), घोडाघोडी नगरपालिकामा ६७ हजार ५५२ (७७.१० प्रतिशत), बर्दगोरिया गाउँपालिकामा ३४ हजार १०९ (८८.७४ प्रतिशत) जनाले आमऔषधि खाएका छन्। 

लम्कीचुहा नगरपालिकामा ७५ हजार १२ (८०.९३ प्रतिशत), जानकी गाउँपालिकामा ३७ हजार ३९२ (७३.७४ प्रतिशत), जोशीपुर गाउँपालिकामा ३१ हजार ६२० (८३.६७ प्रतिशत) जनाले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन्। टीकापुर नगरपालिकामा ८२ हजार २२ (८९.५८ प्रतिशत), भजनी नगरपालिकामा ४४ हजार ५२० (८१.२७ प्रतिशत), कैलारी गाउँपालिकामा ४१ हजार १४१ (८०.२६ प्रतिशत) जनाले आमऔषधि खाएका छन्।

सबैभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकामा एक लाख ६९ हजार ४४७ (८०.८९ प्रतिशत) जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस