बागमति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङ्दी सेमिफाईनलमा
कैलालीः सुदुरपश्चिममा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लब पुगेको छ।
धनगढी रङ्गशालामा सोमबार भएको खेलमा बागमति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता मनाङ सेमिफाईनल पुगेको हो। फाईनल प्रवेशका लागि मनाङले एभिनर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ। निकै प्रतिस्पर्धात्मक खेलको ३७ औ मिनेटमा कोफी टिमुठीले गोल गर्दै मनाङलाई अग्रता दिलाए।
त्यसको ४ मिनेटपछि बागमतिका लागि श्रीजन गौतमले गोल गर्दै खेल बराबरीमा पुगाए। पहिलो हाफमा १–१ बराबरी पछि दोस्रो हाफमा मनाङले अर्को गोल थप्यो। खेलको ६७ औं मिनेटमा सयुडी जमलले गोल गरे। त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि मनाङले २–१ को नतिजालाई आत्मसात गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो।
उक्त खेलका म्याच अफ द म्यान भने मनाङका गोलरक्षक जियारत सेख बनेका छन्। भोली अन्तिम क्वाटरफाईनलमा नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता चैत्र १८ गते फाइनल हुनेछ।