धनगढीको शुभारम्भ फार्मेसीबाट सेवाग्राही हैरान, थर्काउने गरेको गुनासो
धनगढीः धनगढीको सहिद गेटमा रहेको शुभारम्भ फार्मेसीले बिरामीको उपचार गर्नुको सट्टा थर्काएर घर पठाएको छ। शनिवार फार्मेसीले आमाको उपचार गर्नुको सट्टा थर्काएर घर पठाएको धनगढीका हरिश जोशीले गुनासो गरेका छन्। जोशीले आफ्नी आमा मधुमेहको बिरामी रहेको र काठमाडौंबाट फार्मेसीमा आउने डाक्टर मधु पाण्डेलाई नियमित चेकजाँच गराउने गरेको बताए।
तर, यो पटक प्रयोगशाला परीक्षण अन्तै गरेको भनेर शुभारम्भ फार्मेसी सञ्चालकले डाक्टर पाण्डेलाई भेट्न नदिएको आरोप जोशीको छ। शुभारम्भ फार्मेसीले चेकजाँच गराउन आउने बिरामीलाई अनावश्यक प्रयोगशाला परीक्षण गर्न दबाब दिने गरेको जोशीले बताए।
शुक्रवार काठमाडौंबाट आएका डाक्टर मधु पाण्डेलाई भेटेर रिपोर्ट देखाउन खोज्दा शनिवार ७ बजेसम्म डाक्टरले बिरामी हेर्ने बताउँदै चार बजे आउन भनेकोमा चार बजे फार्मेसीमा जाँदा डाक्टर काठमाडौं गइसकेको जोशीले बताए। चार बजे फार्मेसीमा जाँदा फार्मेसी सञ्चालकले थर्काएको उनको गुनासो छ।
फार्मेसीले ल्याव टेष्ट गराएर रकम असुल्ने नियतले अन्यत्र ल्याव परीक्षण गराउने बिरामीलाई डाक्टरसँग भेट्न नदिएको जोशीको गुनासो छ। तर, फार्मेसी सञ्चालक किसनसिंह विष्टले भने कुनै पनि बिरामीलाई अनावश्यक ल्याव परीक्षण गर्न दबाब नदिएको दाबी गरेका छन्। विष्टले हरिश जोशीका आमालाई शनिवार चार बजे आउनु होला भनिएको तर डाक्टरको योजना ७ बजेसम्म बस्ने भए पनि अकस्मात ४ बजे काठमाडौं फर्किनुपर्ने भएकाले रिपोर्ट हेर्न नसिएको बताए।
बिरामीसँगै कुनै पनि किसिमको दुर्व्यवहार हुने काम नगरेको तर डाक्टरले अकस्मात फर्किनुपर्ने भएकाले बिरामीलाई चेकजाँच गर्न नसकिएको विष्टले बताए। उनले रिसेप्सनबाट मिसकम्युनिकेसन भएको तर नियतवस कुनै पनि बिरामीलाई चेकजाँच नगरेको भन्ने कुरा निराधार रहेको दाबी गरे।