सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्वास्थ्य कर्मचारीको भार तीन गुणा बढी, तलब खुवाउनै सकस

२०७९ चैत्र ११, ०३:३४ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ सेवाका कर्मचारी कार्यरत छ। उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएको छ। तर अहिले उपमहानगरपालिकामा समायोजन भएर आएका स्थायी स्वास्थ्य सेवाका कर्मचारीको संख्या चार दर्जनभन्दा बढी अर्थात ५४ पुगेको छ।

कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको उपमहानगरमा असोजदेखि स्वास्थ्य सेवाका कर्मचारीले तलब पाएका छैनन्। बिगतमा जथाभावी सरुवाको सहमति दिएको उपमहानगरलाई अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको हो। ६ महिनादेखि तलबभत्ता नपाएका धनगढीका स्वास्थ्य सेवाका कर्मचारीले हरेक महिना तलबभत्ता पाउनुपर्ने माग राखेका छन्।

शुक्रवार नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। ‘स्वास्थ्य सेवाका कर्मचारीले असोजदेखि मासिक तलबभत्ता पाएका छैनन्। हामीलाई संघीय सरकारको सशर्त अनुदानबाट तलब प्राप्त हुन्छ’, उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या ५४ पुगेको छ।

१६ जनालाई प्राप्त हुने रकमबाट ५४ जनालाई तलब दिँदा असोजपछि हामी कसैले पनि तलबभत्ता पाएका छैनौँ।’ स्वास्थ्य सेवाका कर्मचारीहरूले शुक्रवार नगरप्रमुख गोपाल हमाललाई ज्ञापनपत्र बुझाएर समस्या समाधान गर्न आग्रह गरेका छन्। उनीहरूले आइतबारदेखि कार्यालयमा हाजिर गर्ने तर काम नगर्ने बताएका छन्। नियमित तलबभत्ता नपाउँदासम्म नगरपालिकाको प्राङ्गणमा कालोपट्टी बाँधेर धर्ना दिने कर्मचारीको चेतावनी छ।

६ महिनादेखि स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिएको नगरप्रमुख गोपाल हमालले स्वीकार गरेका छन्। हमालले संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको बताए। ‘कर्मचारी समायोजन हुँदा नेपाल सरकारले तलबभत्ता व्यहोर्नुपर्ने हिसाबले भएको थियो।

तर अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट पठाएको छैन,’ उनले भने, ‘स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त भएको छैन। दरबन्दीभन्दा बढी कर्मचारी हुँदा समस्या भएको हो।’ स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन संघीय सरकारबाट बजेट निकासाका लागि पहल भइरहेको उपमहानगरले जनाएको छ।

कर्मचारी समायोजन गर्दा आवश्यकताभन्दा बढी पठाएको संघीय सरकारले तलबभत्ता पनि पठाउनुपर्ने जिकिर उपमहानगरको छ। कि तलबभत्ता पठाउनुपर्ने कि त संघीय सरकारले कर्मचारी फिर्ता लैजानुपर्ने नगरप्रमुख हमालले बताए। ‘१६ जना स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या होइन। तर पछि सरुवा भएर आएका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको हो।’, उनले भने, ‘तलबभत्ता नपाउँदा कर्मचारी समस्यामा छन्। तलबभत्ताका लागि बजेट पठाउन मैले पनि संघीय स्वास्थ्य मन्त्रालयसँग निरन्तर अनुरोध  गरिरहेको छु।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस