सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तारमा किन बेवास्ता?

२०७९ चैत्र ११, ०१:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डल विस्तारमा अन्यौलता देखिएको छ। नेपाली काँग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीको पदभार ग्रहण गरेको डेढ महिना पुगिसक्दा समेत मन्त्री मण्डल विस्तारमा अन्यौलता देखिएको हो। उनी गत माघ २६ मा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था देखिन्छ। तर दुई मन्त्रीबाहेक थप मन्त्रीमण्डल विस्तार हुन सकेको छैन्।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य सङ्ख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने छ। यहाँ ५३ सदस्य प्रदेश सभा रहेको छ। मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकासमन्त्री र आर्थिक मामिलामन्त्री तोकिएको भए पनि बाँकी मन्त्रालय नेतृत्वविहिनको अवस्थामा छन्।

चार मन्त्रालयमा लामो समयदेखि नेतृत्वविहिन हुँदा कार्यसम्पादनमा समस्या भइरहेको अधिकारीहरुले बताएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री र थप दुई मन्त्रीबाहेक अन्य मन्त्रालयमा मन्त्री नभएपछि मन्त्रालयहरू पनि सुनसान देखिएका छन्। सेवाग्राही तथा कार्यकताले भरिभराउ हुने मन्त्रालयहरूमा मन्त्री नभएपछि सूनसान देखिएको हो। मन्त्रालयका नियमित कार्यबाहेक नीतिगत कार्य प्रभावित भएको बताइएको छ।

लहरुबीच नेतृत्व र मन्त्रालय भागबण्डाबारे समझदारी बनिसकेको छैन। सत्ता साझेदार दलमध्येको मुख्य घटक नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने अडान राख्दै आएको छ। दलहरुले प्याकेजमै सहमति हुने बताइरहेका छन्। सत्ता गठबन्धनको घटक नेकपा माओवादीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहबाटै सबै कुराको टुङ्गो लाग्ने बताए।

उनले आफू सरकारको नेतृत्वको अडानबाट पछि नहटे पनि शीर्ष नेतृत्वको समझदारीलाई आत्मसात् गरेर जाने स्पष्ट पारे। ‘हालसम्म मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिपरिषद रहे पनि सत्तारुढ दलहरुबीच भागबण्डाको विषय टुङ्गिन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।’

तर कतिपय नेताहरुले भने प्रदेशको मन्त्रीमण्डल विस्तारमा बेवास्ताको भइरहेको बताइरहेका छन्। यहाँ प्रदेश सभाको बैठक आह्वान पनि अनिश्चित देखिएको छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

कमेन्ट लोड गर्नुस