सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागमती खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

२०७९ चैत्र ९, ०८:४४ खबर संवाददाता


धनगढीः बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ।

बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराउँदै बागमती युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो। बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए।बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन गरेका थिए। उनले सुदूरपश्चिम प्रदेश सरकार यस क्षेत्रको खेल विकासका लागि सधै सकारात्मक रहेको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए। सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले प्रदेशको खेलकुद विकासका लागि सरकारले बजेटमा वृद्धि गर्नुपर्ने धारणा राखेका थिए।

उनले प्रदेशको खेलकुदमा लगानी गरेको खण्डमा यस क्षेत्रका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो नतिजा दिने दाबी गरे। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले प्रदेशको गौरवको रुपमा रहेको खप्तड गोल्डकप प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रदेश सरकार सहित सम्पुर्ण नीजि र सरकारी निकायप्रति आभार प्रकट गरेका थिए।

बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ। प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन्। प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो।
 

कमेन्ट लोड गर्नुस