विकट गाउँवासीका पीडा, आफ्नै सदरमुकाम पुग्न २५ हजार खर्च
बझाङः जिल्ला सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न ६ दिन पैदलयात्रा गर्नुपर्छ। गत वर्षयता भने तलकोट हुँदै पनाल्तसम्म जिप सडक बनेपछि पैदलयात्रा दुई दिन घटेको छ।
जिल्ला सदरमुकाममै पुग्न साइपालवासीले १० हजारभन्दा बढी खर्च गर्नुपर्छ। ‘राज्यले निःशुल्क दिने एउटा नागरिकता बनाउनका लागि धुली–बलौडीका नागरिकले २०–२५ हजारसम्म छुट्याउनुपर्छ’, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘त्यति पैसा नबोके अलपत्र परिन्छ।
बाटोमा खान, बस्न, आउन, जान धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति धेरै जना चासो देखाउँदैनन्।’ साइपालमा धेरै परिवार अति न्यून आयस्रोत भएको उनले बताए। ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि २५ हजार नागरिकतामा खर्च गर्नुभन्दा दुई–चार महिनालाई चामल खरिद गर्न चाहन्छन’, उनले भने। उनका अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशतले अझै नागरिकता पाएका छैनन्।