सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने, बैतडीमा तालाबन्दी

२०७९ चैत्र ४, ०६:३९ खबर संवाददाता

धनगढीः आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ।

६ क्याम्पसमा चुनाव हुँदैछ। भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ। रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा मात्रै चुनाव हुने देखिएको छ। कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ।

नेविसंघ एक्लै चुनावी मैदानमा होमिएको छ। कञ्चन बहुमुखी क्याम्पसमा काँग्रेस, माओवादी निकट संयुक्त प्यानलबाट नेविसंघका दिनेश भट्टले उम्मेदवारी दिएका छन् भने एमाले निकट विद्यार्थी संगठनबाट देवबहादुर साउद एक्लै चुनावी मैदानमा उत्रिएका छन्। जनता बहुमुखी क्याम्पस पुनर्वासमा एमाले, काँग्रेस निकट विद्यार्थी संगठनबाट अनेरास्ववियुकी सकुन्तला मल्ल र माओवादी निकट अखिल क्रान्तिकारीबाट मनोज साउद एक्लै चुनावी मैदानमा छन्। 

महाकाली बेलौरी क्याम्पसमा नेविसंघबाट निरज भण्डारी, अनेरास्ववियुबाट हिरामोती चौधरी, अखिल क्रान्तिकारीबाट सपना चौधरी र नागरिक उन्मुक्ति निकट संगठनबाट उर्मिला चौधरीको प्यानल चुनावी मैदानमा होमिएको छ। सो क्याम्पसमा समाजवादी र माओवादी निकट विद्यार्थीबीच चुनावी तालमेल भएको छ। रामपुर बहुमुखी क्याम्पसमा नेविसंघबाट धनीराम चौधरी, अनेरास्ववियुबाट विमला रेग्मी र अखिल क्रान्तिकारीबाट सरस्वती तिरुवाको प्यानल चुनावी मैदानमा उत्रिएको छ।

रौलेश्वर आर्दश बहुमुखी क्याम्पस बेलडाँडीमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ। क्रान्तिकारीको सर्मथनमा नेविसंघका गजेन्द्र उपाध्याय र अनेरास्ववियुका दिलेन्द्रप्रसाद बडूबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि दानेश्वर बहुमुखी क्याम्पसमामात्रै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा समाजवादी र राप्रपा निकट विद्यार्थीबीच भागबण्डा भएर नेविसंघकी बिमला जोशी नेतृत्वमा स्ववियु समिति निर्विरोध निर्वाचित भएका छन्। 

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित भानु, बारिधी, कञ्चन, बालजागृती, जनज्योती, सिद्धनाथ विज्ञान क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका कारण चुनाव अनिश्चित बनेको छ। त्रिविकै सम्बन्धन प्राप्त उदय सरस्वती क्याम्पस वाणिमा विद्यार्थी संगठनबीच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको छ। 
बैतडीका दुई वटा क्याम्पसमा ताला
बैतडीमा सिगास शिक्षा क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। सो क्याम्पसका निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। क्याम्पस प्रमुख रविन्द्रसिंह धामीले अर्को सूचना नहुँदासम्म स्ववियु निर्वाचन स्थगित भएको बताएका छन। सिगास शिक्षा क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका तीनवटा संगठनले निर्वाचन प्रक्रियामा आपत्ती जनाउँदै आएका थिए।

ती संगठनहरुले भर्ना नभएका विद्यार्थीको नाम पनि मतदाता नामावलीमा प्रकाशित भएको, निर्वाचन नियमावली अनुसार प्रक्रिया अवलम्बन नगरेको, सबै संगठनहरुलाई सर्बदलीय बैठकमा नबोलाएको र नेविसंघलाई मात्र सर्बसम्मत गर्ने बदनियतका साथ निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएका थिए।

अनेरास्ववियुका अध्यक्ष नरेन्द्र साउद, अखिल क्रान्तिकारीका संयोजक गणेश बम तथा अखिल (क्रान्तिकारी) विप्लव समूहका संयोजक सुरेन्द्र धामीले यसअघि नै संयुक्त बिज्ञप्ति मार्फत बिरोध जनाएका थिए। यता जिल्ला सदरमुकामको बैतडी शिक्षा क्याम्पसमा तालाबन्दी भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। नेविसंघले निर्वाचन समिति निष्पक्ष नभएको भन्दै ताला लगाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको हो।

सो क्याम्पसका निर्वाचन अधिकृत रामचन्द्र ओझाले स्ववियु निर्वाचन अनिश्चितकाल सम्मका लागि स्थगित भएको बताएका छन। नेविसंघले बैतडी शिक्षा क्याम्पसमा ताला लगाएपछि सोको बिरोधमा अनेरास्ववियुले गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। बैतडी शिक्षा क्याम्पसमा बिना कारण ताला लगाइएको र खोल्न पहल नभएको भन्दै जगन्नाथ क्याम्पसमा ताला लगाएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र साउदले बताए। त्रिभुवन विश्वविद्यालय अन्तरगतको बैतडी शिक्षा क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको जगन्नाथ बहुमुखी क्याम्पस जिल्ला सदरमुकाममा रहेका क्याम्पस हुन्।

कमेन्ट लोड गर्नुस