महेन्द्रनगरमा नेपाली सेनाको वाहिनीपति ट्रफी भलिबल प्रतियोगिता
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा विहिवारबाट नेपाली सेनाको वाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ।
श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा वाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ। श्री नं २५ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गरेका हुन्।
उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० को सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुआत गरेको हो।
त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ। सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० को सोझो सेटले पराजित गरेको हो। प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए।
वाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ।