बैतडी जिल्लामा पशु चौपायामा लुम्पी भाइरलको सङ्क्रमण
बैतडीः बैतडी जिल्लाको एक पालिकामा लुम्पी भाईरल रोग फैलिएको छ।
जिल्लाको शिवनाथ गाउँपालिकामा लुम्पी भाईरल रोग फैलिएको हो। शिवनाथ गाउँपालिका २, जोलापानी बस्कोटी बस्तीका गाई,गोरुमा लुम्पी स्किन डिजिज भाईरल रोग फैलिएको छ। अहिलेसम्म ४० वटा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले बताए।
गाउँपालिकाको जोलापानी आसपासमा लुम्पी स्किन डिजिज भाईरलबाट गाई गोरु बढी सङ्क्रमित भएको साउदले बताए। पशु शाखा प्रमखुसाउदका अनुसार यो रोग लाग्दा पशुलाई ज्वरो आउँने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिंगान काँड्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुनो गाईले दूध कम दिने र गर्भीर्णी पशु तुहिने समस्या देखा पर्ने गर्दछ।
रोगको सङ्क्रमण फैलिन नदिन प्राथमिक उपचार सुरु गरिए पनि रोग नियन्त्रण बाहिर पुगेको उनले बताए। सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन नभएको जनाईएको छ। पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका अनुसार रोग नियन्त्रणका लागि बैतडीमा कुनै भ्याक्सिन नभएकाले सबैले बिचार पु¥याउनुपर्ने पशु सेवा विज्ञ केन्द्र पाटनले जनाइएको छ।