सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमरान खानलाई पक्रिन पाकिस्तानी प्रहरी असफल

२०७९ चैत्र १, ०७:४३ खबर संवाददाता

एजेन्सीः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रिन प्रहरी असफल भएको छ।

मगलवार देखि उनलाई पक्रिन प्रहरी लाहौरस्थित उनकै घरमा पुगेको प्रहरी र त्यसलाई रोक्न आएका समर्थकहरुबीच लामो समय घम्साघम्सी चलेको थियो। उनलाई पक्रिने प्रयासमा प्रहरीले टियर ग्यास समेत प्रहार गरेको थियो। तर, हालका लागि उनलाई पक्राउको प्रयास छाडिएको छ।

बुधबार लाहौरमा पीएसएलको क्रिकेट खेल हुने भएकाले त्यसमा बाधा उत्पन्न हुन नदिन भन्दै अदालतले बिहीबारसम्मका लागि पक्राउ अपरेसन रोक्न आदेश दिएको बताइएको छ। १९ मार्चमा पीएसएलको फाइनलपछि सो अपरेसन फेरि सुरु हुने एक मन्त्रीले बताएका छन्।

प्रहरी फर्केपछि खानले बाहिर निस्केर समर्थकहरुलाई सम्बोधन गरेका छन्। गिरफ्तारीको बहानामा आफूलाई अपहरण गरी हत्या गर्ने योजना सरकारले बनाएको उनको आरोप छ। गत अप्रिलमा सत्ताच्यूत गरिएका खानमाथि राज्यलाई प्राप्त उपहार बेचेको आरोप लगाइएको छ। जसलाई उनले अस्वीकार गरेका छन्।

अदालतमा हाजिर नभएपछि मंगलबार प्रहरी उनलाई पक्रिन पुगेको थियो। तर, समर्थकहरुले प्रहरीलाई रोक्दा दोहोरो झडप भएको थियो। पाकिस्तानमा आउँदो अक्टोबरसम्ममा आम चुनाव हुनुपर्ने छ। उनको लोकप्रियता उच्च रहेकोले त्यसअघि जसरी पनि उनलाई थुन्ने योजनामा सरकार रहेको उनको पार्टी पीटीआईको आरोप छ। 

कमेन्ट लोड गर्नुस