सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सेफ्टी टङ्कीको फोहोर सोझै नाली र सडकमा

शिवनगरमा नालीमा सेफ्टी टङ्कीको फोहोर बगाएपछि देखिएको दृश्य
शिवनगरमा नालीमा सेफ्टी टङ्कीको फोहोर बगाएपछि देखिएको दृश्य
२०७९ फाल्गुन ३०, ०६:२६ नारायण अवस्थी

धनगढीः प्रदेशको एक मात्र उपमहानगर धनगढीमा केही घर धनीले सेफ्टी टङ्कीको फोहोर नाली र सडकमा बगाउने गरेका छन्। कानुन र सभ्याताका दृष्टिले घरायसी फोहोरको उचित व्यवस्थापन गर्ने जिम्मेवारी हरेको नागरिकको हो।

यस्तै, नियमअनुसार काम भए नभएको अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारको हो। तर, धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रमै सेफ्टी टङ्कीको फोहोर सडक र नालीमा निर्वाध बगाउने गरिएको छ।

उपमहानगरपालिकाको वडा नम्बर ५ शिवनगर सुन्दरचोक पश्चिममा रहेको टोलमा स्थानीय दिपीका बोगटीले डेढ वर्षदेखि घरको शौचालयको सेफ्टी टङ्कीको फोहर नालीमा बगाउने गरेको भन्दै सोही टोलका ७ जनाले माघ १६ गते धनगढी उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए। स्थानीयले दिसा पिसावको दुर्गन्धले बस्तीमा बस्न समस्या भएको भन्दै उपमहानगरमा निवेदन दिएका हुन्।

 

घर धनी बोगटीले सेफ्टी टंकीको फोहोर नालीका बगाउने काम नरोक्दा बाध्य भएर उपमहानगरलाई गुहार्न पुगेको स्थानीयले बताएका छन्। नालीमा दिसा पिसाव बगाउँदा टोलमा बस्न समस्या भएको स्थानीय पार्वती रोकायाले बताइन्।
'सेफ्टी टङ्कीको फोहोर नालीमा बगाउँदा हामीलाई टोलमा बस्न समस्या भएको छ,' उनले भनिन्, 'दुर्गन्धले टोलमा बाहिर आउनै समस्या हुने गरेको छ।'

स्थानीय रूवि जिसी, केशवप्रसाद विनाडी, गणेश रोकाया, भुवन अवस्थी, हृदयन्द्र जेसी, धौलीदेवी थापा र ज्ञानुदेवी जोशीले नाली सफा गर्न लगाउन र सेफ्टी टङ्कीको फोहर नालीमा फाल्न रोक लगाउन उपमहानगरमा उजुरी दिएका हुन्। तर उपमहानगरपालिकाले उजुरी उपर डेढ महिनासम्म कुनै कारबाही नगरेको गुनासो स्थानीय हेमराज विष्टको छ।'हामीले माघ १६ गते वडा कार्यालय र उपमहानगरपालिकामा निवेदन दर्ता गरेका हौँ,' उनले भने, 'तर अहिलेसम्म कुनै कारबाही भएको छैन्। निवेदन दर्ता गर्दा नाली सफा गर्न लगाउने माग पनि गरेका हौँ।'

शिवनगर जस्तै धनगढी-४ को शिवपार्वती टोलमा पनि सेफ्टी टङ्कीको पानी सडकमा बगाउने गरेको स्थानीयले गुनासो गरेका छन्। शिवपार्वती टोलका कालुराम चौधरीको घरको सेफ्टी टङ्कीबाट आउने पानी सडकमै बगेको र जमेको देख्न सकिन्छ। यस्तै नास्ट कलेज नजिकै रहेको प्याराडाइज रेष्टुरेन्टबाट आउने फोहोर पानी सडकमै जमेको देख्न सकिन्छ।

यसैगरी, वडा नम्बर ४ को विभिन्न टोलमा पनि घर धनीहरूले फोहोर पानी सडकमा छोड्ने गरेको स्थानीयले गुनासो गरेका छन्। तर, वडा नम्बर ४ को अवस्था थाहा नभए पनि वडा नम्बर ५ मा भने घर धनीले सेफ्टी टङ्की निर्माण गर्न लगाएको उपमहानगरले जनाएको छ। घर धनी बोगटीले नाली पनि सफा गर्ने प्रतिबद्धता गरेको धनगढी उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए। 'घर धनीले सेफ्टी टङ्की बनाइ सकेको अवस्था छ,' उनले भने, 'आज नै हाम्रो टोली त्यहाँ गएको थियो, नाली पनि सफा गर्ने सहमति भएको छ।'

सामान्यतया घरबाट निस्कने फोहरको व्यवस्थापन घर धनी स्वयंले गर्नुपर्ने हुन्छ। तर' धनगढीवासीले भने फोहरमैला सडकमा मिल्काउनुलाई अधिकार सम्झिदा उपमहानगरपालिकाका लागि फोहोरमैला व्यवस्थापनको काम चौनीतिपूर्ण बनेको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस