स्वास्थ्य बिमाबाट सेती अस्पताल र लाभग्राही हैरान
धनगढीः सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचार र औषधि पाउन सकस हुन थालेको छ। बिमा कार्ड लिएर उपचार गर्न आउने बिरामीलाई अस्पताल फार्मेसीबाट औषधि दिन र प्रयोगशाला जाँच गराउन सास्ती हुन थालेको हो। स्वास्थ्य बिमा बोर्डले उपचार गरेको रकम भुक्तानी नगर्ने, अस्पताले गरेको भुक्तानी दाबी एकतर्फी पूर्व सूचना बिना नै अस्वीकार गर्ने गरेको छ।
बिमा बोर्डको सर्भर डाउन हुने र उपचार गरेको रकम नपाउनेलगायत समस्याका कारण स्वास्थ्य बिमा सेवा बन्द गर्नुपर्ने अवस्था आइलागेको अस्पतालको तर्क छ। स्वास्थ्य बिमाबाट सेती प्रादेशिक अस्पताल र लाभग्राही हैरान भएका छन्। आइतवार ११ बजे सेती प्रादेशिक अस्पतालका उपचार गर्न आएका स्वास्थ्य बिमा बनाएका बिरामी निकै आक्रोशित थिए।
उनीहरूले अस्पतालबाट बिमा गराएका बिरामीले उपचार र औषधि पाउन समस्या भएको बताउँदै थिए। बिहानै ८ बजे उपचार गर्न लाइन लाग्न आएको बताउने गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका तिर्थराज ओझा स्वास्थ्य बिमा गरेर पनि सहज उपचार नपाएको गुनासो गर्दै थिए। बिमा गरेर पनि उपचार नपाउनु अन्याय भएको उनको गुनासो थियो।
यस्तै, बझाङको छविसपाथिभेरा घर बताउने महेश्वरी पण्डितले पनि स्वास्थ्य बिमा भए पनि सेतीमा उपचार पाउन समस्या भएको बताइन्। उनले डाक्टरले एक महिनाको औषधि लेख्ने तर फार्मेसीबाट १५ दिनभन्दा बढीको औषधि नपाइने समस्या रहेको बताइन्।
‘हामी बझाङबाट उपचार गर्न आएका छौँ, डाक्टरले एक महिनाको औषधि खाएर फेरि अस्पताल आउने भन्छन् तर फार्मेसीले १५ दिनको मात्रै औषधि दिन्छ,’ उनले भनिन्, ‘एक महिनाको औषधि खान दुई पटक धनगढी आउनु पर्ने यो कस्तो नियम हो?’
सेती अस्पतालमा कानको शल्यक्रिया गराउन आएको बताउने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की चम्फा बिकलाई आइतवार अस्पताल धाउन थालेको पाँच दिन भएको छ।
स्वास्थ्य बिमामा समस्या भएकाले उपचार नपाएको उनले बताइन्। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० घर बताउने पदमराज उपाध्यायले पनि बिमा गरेको भए पनि उपचार पाउन नसकेको बताए। सेतीमा मेसु व्यवस्थापक र कर्मचारीलाई गुनासो गर्दा पनि बिमाबाट उपचार पाउने अवस्था नबनेको उपाध्यायको गुनासो थियो। यता, सेती अस्पतालले भने आइतवार स्वास्थ्य बिमा बोर्डको सर्भरमा समस्या आएकाले काम गर्न नसकिएको जनाएको छ।
अस्पताले देशभर नै स्वास्थ्य बिमाको सर्भरमा समस्या आएको बताएको छ। स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले गत वर्षको उपचार गरेको ३ करोडभन्दा बढी रकम भुक्तानी नपाएको, यो वर्ष दाबी गरेको रकम पनि अस्वीकार गर्ने गरेकाले स्वास्थ्य बिमाका बिमितको उपचार गर्न नसकिने अवस्था आएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितका अध्यक्ष नरबहादुर शाहले बताए।
‘स्वास्थ्य बिमा बोर्डले स–सानो त्रुटि देखाएर सुधार गर्ने मौकासम्म नदिएर गत वर्षको ३ करोड बढी उपचार गरेको रकम भुक्तानी गरेको छैन,’ उनले भने, ‘महिनामै करोड जतिको उपचार रकम क्लेम गर्नुपर्ने हुन्छ तर भुक्तानी गर्नेभन्दा फाइल रद्द गर्ने काम स्वास्थ्य बिमा बोर्डले गर्दै आएको छ। हामीलाई स्वास्थ्य बिमा सुचारू गर्न समस्या हुन थालेको छ। यस्तै हो भने सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’
कैलालीमा मात्रै २ लाख ६२ हजारले स्वास्थ्य बिमा गरेका छन् भने सुदूरपश्चिममा करिब ५ लाखले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ। बिमा गरेका सबैभन्दा बढी व्यक्ति सेती अस्पतालमै उपचार गराउ आउने अस्पतालको दाबी छ। अस्पतालले बिमितको निःशुल्क उपचार गरेर औषधि दिएर घर पठाउने गरे पनि स्वास्थ्य बिमा बोर्डले भने निहुँ खोजेर अस्पतालले गरेको क्लेम रद्द गर्ने गरेको छ।
जसले गर्दा अस्पताललाई फार्मेसी र प्रयोगशाला चलाउन समस्या भएको छ। स्वास्थ्य बिमा कार्यक्रम राम्रो भए पनि कार्यक्रमसँग नीति नमिल्दा हरेक महिना सेती अस्पतालले करोड भुक्तानी पाउनुपर्ने भए पनि बिमा बोर्डले क्लेम रद्द गर्दै आएको छ। तर स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख रमेशकुमार कुश्वाहले भने देशभरका अस्पतालको क्लेम भेरिफाइ गर्दा भुक्तानीमा समय लाग्ने गरेको बताए।
‘देशभर पाँच सयभन्दा बढी अस्पतालको क्लेम केन्द्रमा भेरिफाइ गर्नुपर्ने हुन्छ, त्यसैले भुक्तानीमा समय लाग्ने गरेको हो,’ उनले भने, ‘बिमा बोर्डले नियमितजसो अस्पतालहरूलाई रकम भुक्तानी गर्दै आएको छ।’ स्वास्थ बिमा बोर्डले कर्मचारीलाई तालिम नदिने, एकतर्फी क्लेम रद्द गर्ने, क्लेम रद्द भएको जानकारी अस्पताललाई, नगराउने, भुक्तनी हुन नसकेको रकम पाउने विषयमा कुनै छलफल र अध्ययन नगर्ने र अस्पतालाई ठिक समयमा भुक्तानी नगर्ने जस्ता कारणले अस्पतालका लागि स्वास्थ्य बिमा कार्यक्रम टाउको दुखाईको विषय बनेको छ।