कञ्चनपुरको पुर्नवास नगरपालिका लक्षित वर्गका कार्यक्रममा २४ लाख खर्च गर्दै
कञ्चनपुरको पुर्नवास नगरपालिकाले आर्थिक वर्षको अन्तमा आएर लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गर्दै बजेट सक्ने तयारी गरेको पाईएको छ। दुई चौमासिक सम्म लक्षित वर्गका कार्यक्रम कार्यान्वयनतर्फ ध्यान नदिएको नगरपालिकाले आर्थिक वर्ष सकिन साढे तीन महिना भन्दा कम समय बाँकी रहेका बेला कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडी बढाएको छ। तर कार्यक्रम सञ्चालन र लाभग्राही छनौट पूर्व आवश्यक पर्ने कार्यविधीलाई भने अझै पूर्णता दिन सकेको छैन्।
आर्थिक वर्षको नौ महिना सम्म कुनै मापदण्ड नबनाएको पुर्नवास नगरपालिकाले साढे तीन महिना बाँकी रहेका बेला उक्त कार्यलाई अगाडी बढाएको हो। केही समय पहिले मात्र लक्षित वर्गको कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि ड्राफ्ट गरेको नगरपालिकाले छिट्टै पारित गरेर लक्षित वर्ग शिर्षकको झण्डै २४ लाख बजेट सक्ने तयारी गरेको छ। दलित, आदिवासी ÷जनजाती, विपन्न तथा अलपसंख्यक र महिलाका लागि छुट्टाछुट्टै बजेट छुट्याएकाले कार्यान्वयनमा लैजाने तयारी भएको पुर्नवास नगरपालिकाका सामाजिक शाखा संयोजक सुरेश गजुरेलले बताए।
अन्य स्थानीय तहले जस्तै पुर्नवास नगरपालिकाले पनि लक्षित वर्गका कार्यक्रम अन्तरगत सिलाईकटाई, हाते कडाई, मोवाईल मर्मत, व्युटिसियन तालिम लगायतका गतिविधी सञ्चालन गर्ने तयारी गरेको छ। तर कार्यविधी बनाउनमा भएको ढिलाईका कारण कार्यक्रम प्रभावकारी हुनेमा आशंका थपिएको छ।
कार्यविधी निर्माणमा भएको ढिलाईले गत वर्ष पनि पुर्नवास नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न सकेको थिएन तर यसवर्ष भने व्यस्थित हिसाबले नै कार्यक्रम चलाउन कार्यविधी बनाईएको दावी गरिएको छ। कैलाली कञ्चनपुरका अधिकांश स्थानीय तहका जननप्रतिनिधीले लक्षित वर्गका कार्यक्रमलाई उत्पादन मुलक क्षेत्रसँग जोड्नुको सट्टा कार्यकर्ता खुसी बनाउने माध्यम बनाएको आरोप लाग्दै आएको छ।
पुर्नवास नगरपालिकाले पनि आर्थिक वर्षको अन्त र कामको चटारो चल्ने बेला आएर कार्यक्रम कार्यान्वयनको तयारी थालेपछि जनप्रतिनिधीहरुले कार्यकर्ता भर्ना गर्दै बजेट सक्ने त होईन भन्ने आशंक बढ्दै गएको छ। तर पुर्नवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले बजेटको दुरुपयोग हुन नदिने तर्फ सचेत रहेको बताएका छन्। उनले लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी बनाईने दावी गरे।