सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिकलसेलबारे छलफल, १६ चिकित्सकको कार्यपत्र प्रस्तुत

२०७९ फाल्गुन २८, ०७:४३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सकलसेल एनिमियाबारे छलफल भएको छ। शनिवार धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलनमा थारु समुदायमा बढी देखिएको वङ्शाणुगत रोग सिकलसेल एनिमियाको बारेमा छलफल भएको हो। चिकित्सकहरुबीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यले धनगढीमा सम्मेलन गरिएको थियो। 

सोसाइटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (साइमन)को आयोजनामा भएको सम्मेलनमा सिकलसेल एनिमियाको सवालमा चिकित्सकबीच छलफल गरिएको सम्मेलनका संयोजक वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताए।

सम्मेलनमा उनीसहित विभिन्न विषयका विशेषज्ञ १६ जना चिकित्सकले सिकलसेल एनिमियासंग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए। डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, प्रोफेसर डा. भूपेन्द्रकुमार बस्नेत, डा.शेरबहादुर कमर, डा. प्रज्ञा गौतम, डा. कपिल गौतमले कार्यपत्र प्रस्तुत गरेका छन। यसैगरी, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीन चन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्माले पनि कार्यपत्र प्रस्तुत गरे। सिकलसले एनिमियाले बहु अङ्गमा समस्या गर्ने भएकाले आँखा, हड्डी, पेडियाट्रिक लगायत विषय विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरेका हुन्। 

सम्मेलनमा भारत, काठमाण्डौं, नेपालगञ्ज र सुदूरपश्चिममा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो। कैलालीका अस्पतालमा उपचाररत एक हजार एक सय ९८ र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत आठ गरी यो प्रदेशमा अहिले एक हजार दुई सय ६ जना सिकलसेलका बिरामी छन्। सेती प्रादेशिक असपतालमा आठ सय ३६, घोडाघोडी अस्पतालमा तीन सय ६२ र टीकापुर अस्पतालमा एक जना बिरामीले उपचार गराइ रहेका छन्। 

चिकित्सकका अनुसार सिकल ‘जेनेटिक डिसअर्डर’बाट हुने वङ्शाणुगत रोग हो। विगतमा मलेरिया प्रभावित क्षेत्रका आदिवासीमा यो रोग बढी छ। नेपालमा थारु समुदायमा यो रोग बढी रहेको छ। वङ्शाणुगत कारणले रातो रक्तकेशिका खराबी भइ हसिया आकारको हुनु सिकलसेल रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. शेरबहादुर कमरले बताए। उनका अनुसार सिकलसेल एनिमियाका बिरामीहरुको राम्ररी उपचार भएमा उनीहरु ७० वर्षसम्म बाँच्ने गर्दछन्। 

सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा परिषाभाषित गरेर नेपाल सरकारले २०७१ बाट बिरामीलाई एक लाख रुपियाँ बराबरको औषधोपचार सहुलियत दिदैं आएको छ। त्यसले उनीहरुको उपचारमा धेरै सहज भएको छ। 

कमेन्ट लोड गर्नुस