सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुटु रोगी काठमाण्डौँमा निर्भर, विशेषज्ञ दुई जना मात्र

२०७९ फाल्गुन २७, ०७:०५

वीरेन्द्र भट्ट, धनगढीः सेती प्रादेशिक अस्पताल, धनगढीका निजी अस्पताल र क्लिनिकहरूमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीहरूमध्ये मुटु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको छ। उपचारका लागि आउने बिरामीमध्ये कम्तीमा २५ प्रतिशत कुनै न कुनै प्रकारका मुटुरोगी हुने गरेको पाइएको छ। दक्ष चिकित्सक र उपकरण अभावले जिल्ला तहमा रोगको पहिचान गर्नै मुस्किल हुने गरेको छ।

मुटुको अप्रेसन गरी पुनः परिक्षणका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी तथा अत्तरिया आउने बिरामीको संख्या ७ वर्षअघि एक सयको हाराहारीमा थियो। यो संख्या बढेर अहिले करिब दुई सय पुगिसकेको छ। मुटु रोगका विरामी वर्षेनि बढ्दै गएको पाइएको छ। सुदूरपश्चिममा मुटु रोग अस्पताल छैन्।

सबै निजी तथा सरकारी अस्पतालमा समेत मुटु रोग विशेषज्ञ चिकित्सक छैनन्। यस कारण पनि प्रदेशभित्र मुटु रोगी कति छन भनेर एकिन तथ्यांक नभए पनि मुटु रोगीको संख्या थप हुँदै गएको सुदूरपश्चिम हट केयर फाउण्डेशनका अध्यक्ष धर्मसिंह धामीले बताए।
‘सुदूरपश्चिमका सबै जिल्लामा मुटु रोगी छन्। तर यहाँ जटिल प्रकृतिका मुटु रोगीको उपचार नहुँदा हामी काठमाण्डौँ नभए भारतमा निर्भर छौँ। त्यो पनि हुने खानेले मात्र त्यहाँ उपचार पाउने हुन्।

नसक्नेले त हरेक महिना मुटुकै कारण ज्यान गुमाइरहेका छन्।’ सिकिस्त भएपछि मात्रै बिरामीहरू अस्पतालमा आउँछन्। स्वास्थ्य संस्थामा पुगेपछि पनि रोग पहिचान गर्नै वर्षौं लाग्छ। दक्ष चिकित्सक र उपकरण अभावले जिल्ला तहमा मुटुरोगको पहिचान गर्नै मुस्किल हुने गरेको छ। अझ दुर्गमका मुटु रोगीहरूले थाहै नपाई ज्यान गुमाइरहेका छन्। हृदयाघातका अतिरिक्त बाथज्वरोका कारण मुटुको भल्ब बिग्रने, मुटुमा जन्मजात प्वाल हुनेलगायतका मुटु रोगहरू बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

सेती प्रादेशिक अस्पतालमा मात्र दैनिक २५ जनाको हाराहारीमा मुटुरोगी आउने गरेको मुटुरोग विशेषज्ञ डाक्टर कृष्णचन्द अधिकारी बताउँछन्। ‘प्रदेशभित्र मुटु रोगीको संख्या निकै बढी देखिएको छ। दैनिक २५ को संख्यामा सेतीमा मुटुरोगी आउने गरेका छन्। सेतीमा मसहित गरी दुई जना मात्र मुटुरोगी विशेषज्ञ छौँ।’विशेषज्ञहरूका अनुसार मुटुरोग दुई कारणले हुने गरेको छ।

एउटा भित्री वा मुटुको भागमा समस्या सिर्जना भएर र अर्को बाहिरी क्रियाकलापले मुटु रोग लाग्ने गरेको छ। भित्री कारण भनेको धडकनसम्बन्धी समस्या हो। बाहिरी कारण धूम्रपान, मध्यपान, कोलेस्ट्रोल, ब्लडप्रेसर बढ्नुलगायतले हुन्छ। थाइराइड, सुगर, मोटोपना लगायत कारणले पनि मुटु रोग हुन्छ। जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै गएको छ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा मुटु रोगीको संख्या बढ्दै गएको हो। गाउँमा झन्डै एक तिहाइलाई उच्च रक्तचापको समस्या देखिने गरेको चिकित्सक बताउँछन्। बेहोस हुनु मुटु रोगको लक्षण हो। मानिस दुई कारणले बेहोस हुन्छ, एउटा छारे रोग र अर्को मुटु रोग हो। सुदूरपश्चिममा दुई जना मात्र मुटु रोग विशेषज्ञ छन त्यो पनि सेतीमा मात्र। विरामीको तुलनामा चिकित्सक र उपचार उपकरण पर्याप्त नहुँदा समस्या हुने गरेको मुटुरोग विशेषज्ञ डाक्टर अधिकारीले बताए।

मुटुमा कृत्रिम भल्ब राखेका बिरामीहरूले नियमित रगत परीक्षण गरी चिकित्सकले औषधि मिलाउनुपर्ने हुन्छ। कृत्रिम भल्बमा रगत जमेर तत्कालै मृत्यु हुन सक्ने जोखिम हुने भएकाले चिकित्सकहरूले यस्ता बिरामीहरूलाई रगत जम्न नदिने औषधि दिइएका हुन्छन्। बिरामीहरूले बाँचुन्जेल फारेन नामक उक्त औषधि सेवन गर्छन्। रगतको पीटी÷आईएनआर नामक जाँच गरेर चिकित्सकहरूले औषधिको मात्रा मिलाइरहेका हुन्छन्। यो जाँच गर्ने सुविधा संघीय राजधानीबाहेक अन्यत्र विश्वसनीय छैन्।

कमेन्ट लोड गर्नुस