लामो समयसम्म खुल्न नसकेको टिंकर नाका सञ्चालन गर्न व्याँस क्षेत्रका व्यवसायीको माग
दार्चुलाः दार्चुलाको टिंकर नाका सञ्चालनको माग राख्दै प्रधानमन्त्रिलाई मागपत्र पठाएको छ।
टिंकर नाका भएर दशकौँदेखि चीनको ताक्लाकोटसम्म परम्परागत व्यापार र आवागमन हुँदै आएकोमा सन २०२० देखी कोभिड महामारीका कारण नाका बन्द रहेको छ। टिंकर नाका संचालन नहुँदा दार्चुला जिल्लाको ब्याँस क्षेत्रमा बसोबास गर्ने तीन दर्जन भन्दा बढी व्यापारी व्यवसायीहरूका साथै सयौँ स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको भन्दै तत्काल बन्द रहेको उक्त नाका सञ्चालनको माग गरिएको छ।
नाका सञ्चालनको माग गर्दै ब्याँस गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको छ। गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी, ब्यासका बासिन्दा तथा प्रदेशसभा क्षेत्र नम्बर १ का पूर्व सांसद गेल्बु सिंह बोहरा र स्थानीयले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई उक्त मागपत्र बुझाएको हो। ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले रसुवागढी, हिल्सालगायतका नाकाहरु सञ्चालनको तयारीमा रहेका बेला दार्चुलाको टिंकर नाकालाई पनि सञ्चालनका लागि माग गरेको बताए।
मागपत्रमा बन्द टिंंकर नाका तत्काल खुलाई सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता सम्बोधन गर्न र स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउन जोडदार माग गरिएको बताए। नाका नखुल्दा त्रिदेशीय व्यापारमा घाटामा परेको त्यहाँका स्थानीय व्यवसायीको भनाई छ।