नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य
काठमाडौंः आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई २९८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रनको मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो। नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो।यसअघि कीर्तिपुरमै लिग टू मा नामिबिया विरुद्ध नेपालले ठूलो लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो।
नेपालका लागि आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए। दुबई टुरमा चोटका कारण यूएई विरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए।