धनगढीमा पानीको ‘रिचार्ज’ प्रणाली जोगाउ तालको अतिक्रमण खाली गराइदै
धनगढीः जमिनमुनिको पानीको स्रोत जोगाउन धनगढी उपमहानगरपालिकाले प्राकृतिक तालहरुको अतिक्रमण खाली गर्न थालेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न प्राकृतिक तालहरुको अतिक्रमण हटाउन थालिएको हो।
धनगढीको डुबान समस्यासँगै पानीको स्रोतसमेत नासिएको भन्दै उपमहानगरपालिकाले प्राकृतिक तालहरुको अतिक्रमण हटाउँदैछ। धनगढीका तालहरुमा भूमाफियाले अतिक्रमण गरेर बिक्री वितरण गरेका हुन्। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले प्राकृतिक तालहरुको अतिक्रमणले पानीको ‘रिचार्ज’ प्रणालीमा समस्या आउने बताए। उनले भने, ‘तालतलैयाहरु, जसले भोलि जीवन दिन्छ। जसले पानी रिर्चाज भएर, अण्डरग्राउण्ड पानी हुन्छ।’ यस्ता तालहरुको संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व हामी सबैको हो।’
जमिनमुनिको पानीको स्रोत जोगाउने भन्दै उप–महानगरपालिकाले अतिक्रमित तालहरु खाली गर्न थालेको हो। धनगढी उप–महानगरपालिकाले विभिन्न वडाका तालहरुको अतिक्रमण खाली गर्दै छ। प्रत्येक वडाका प्राकृतिक तालहरुको पहिचान गरेर खाली गर्न थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अतिक्रमण खाली गर्ने अभियनमा तालहरुसमेत रहेको बताए। धनगढीका तालहरुलाई नक्साका आधारमा संरक्षण गर्दैछ। उपमहानगरपालिकाले २०२१ को नापीलाई आधार मानेर अतिक्रमित प्राकृतिक तालहरु खाली गर्न थालेको हो।
धनगढीको डुवानसमस्या सँगै पानीको स्रोत समेत जोगाउने अभियानमा उपमहानगरपालिका छ। सार्वजनिक ताल र कुलोको अतिक्रमणले डुबानको समस्यासँगै पानीको स्रोतसमेत सुक्दै गएको बुझाइ उपमहानगरपालिकाको छ। नगर प्रमुख हमालले भने, ‘सार्वजनिक सम्पतिको संरक्षणका लागि हामी अगाडि बढेका छौँ। त्यो भनेको आउने पुस्ताका लागि सहि पानी आवास र बाढी आएको समयमा बस्नका लागि जमिन होस्। विपद् तथा भूकम्पको समयमा बस्न खाली ठाउँ धनगढीमा देख्नु भएको छ ?’ उपमहानगरभित्र रहेका नाला, खोला, ताल, नदी क्षेत्रको अतिक्रमण खाली गर्न डोजर प्रयोग गरिएका छन्। बर्सात्को पानीको प्राकृतिक बहाउ रोक्ने संरचना खाली गर्न थालिएको हो। पानीको स्रोत (रिचार्ज) प्रणालीलाई जोगाउन उपमहानगरपालिका लागी परेको हो।
उपमहानगरले वडा नम्बर ७ मा रहेको कित्ता नम्बर ४ को सड्वा बाबा तालको अतिक्रमण हटाएको छ। साढे नौ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त तालमा हालिएका एक घरका ५६ पिलर उपमहानगरले डोजर लगाएर भत्काएको छ। ताल क्षेत्रमा निर्माण गरिएका अन्य घरहरु भत्काउनसमेत सूचना सार्वजनिक गरिएको छ। नगर प्रमुख हमालले भने, ‘सड्वा बाबा तालको अतिक्रमण हटाएका छौँ। ५६ पिल्लर लगाएर घर बनाउन तयारी हुँदै थियो। सात वटा घर भत्काउदैछाँै। प्राकृतिक तालहरु सबैको सम्पत्ति हो। सबैले संरक्षण गर्नुपर्छ।’
वडा नम्बर ७ मा मात्र मनिया ताल, आटा गडैया ताल, सकेला ताल, भानुचोकमा रहेको लम्बा ताल पनि अतिक्रमण गरिएको छ। वडा नम्बर ३ को गडहैया ताल, नेतुवा ताल, वडा नम्बर १ को झगडी ताल, वडा नम्बर ६ को डबरा तालको समेत अतिक्रमण खाली हुँदैछ। धनगढी उपमहानगरपालिका क्षेत्रका अतिक्रमणमा परेका ताल, खोला, कुलो, नाला खाली गर्न थालिएको हो।