कैलालीमा बढेन भन्सार राजस्व, ५ महिनामा उठ्ला त ८ अर्व?
धनगढीः बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसायमा ऋण लगानी कम गर्दै गएपछि त्यसको असर राजस्व संकलनमा परेको छ। ऋण लगानी गरेका उद्योग व्यवसायबाट पनि बैंक वित्तीय संस्थाले ब्याज बढाउने काम गरेपछि ब्यापार चक्रमै ब्रेक लागेको निजी क्षेत्रले गुनासो गर्दै आएको छ।
सुदूरपश्चिमको प्रमुख आयात निर्यात नाका कैलाली भन्सार कार्यालयका लागि भन्सार विभागले चालु आर्थिक वर्षका लागि १२ अर्व ३० करोड ६६ लाख ७८ हजार राजस्व असुलीको सीमा निर्धारण गरिदिएको छ। तर उद्योग व्यापारमा बैंक ऋण कडाईका कारण चालु आर्थिक वर्ष सुरु भएदेखि नै राजस्व असुली घट्दै गएको देखिएको छ।
साउन महिनामा ७३ करोड १३ लाख ३८ हजार राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा असुली ५३ करोड ८५ लाख ८५ हजार (७३.६४ प्रतिशत) मात्र देखिएको छ। भन्सार कार्यालय कैलालीले भदौ महिनामा ९१ करोड ४४ लाख ६९ हजार असुलीको लक्ष्य लिएकोमा ५८ करोड ७४ लाख ९१ हजार (६४.२४ प्रतिशत) मात्र असुली भएको छ।
त्यस्तै असोज महिनामा ९७ करोड २४ लाख ५१ हजार लक्ष्य लिएकोमा असुली ५७ करोड ३० लाख ४२ हजार (५८.९३ प्रतिशत), कात्तिक महिनामा एक अर्व एक करोड ७४ लाख ९७ हजार असुली गर्ने लक्ष्य रहेकोमा ७६ करोड ३७ लाख ६४ हजार (७५.०५ प्रतिशत) असुली भएको छ।
त्यस्तै मंसिर महिनामा एक अर्व चार करोड ४४ लाख ४५ हजार राजस्व असुलीको लक्ष्य निर्धारण गरिएको असुली भने ६९ करोड ९१ लाख तीन हजार (६६.९३ प्रतिशत), पौष महिनामा एक अर्व १२ करोड ६३ लाख २५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा असुली ७० करोड ८ लाख ५० हजार (६२.५० प्रतिशत) तथा माघ महिनामा एक अर्व तीन करोड ८८ लाख ६१ हजार राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा असुली भने ६७ करोड २१ लाख ८७ हजार अर्थात ६४ दशमलव ७० प्रतिशत मात्र देखिएको छ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल ४ अर्व ५३ करोड ५० लाख २२ हजार मात्र राजस्व असुली भएको भन्सार कार्यालय कैलालीको अभिलेख छ। पाँच महिनाको अवधिमा ७ अर्व ७७ करोड १६ लाख ५६ हजार भन्सर कार्यालय कैलालीले असुली गर्नुपर्ने लक्ष्य रहे पनि अहिलेकै अवस्थामा लक्ष्यअनुसार राजस्व संकलन हुने अवस्था नरहेको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पवित्रकुमार खड्काले बताए। गत आर्थिक वर्ष पनि कुल ११ अर्व ८२ करोड ३९ लाख १७ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा असुली ९ अर्व ५८ करोड २६ लाख ५० हजार अर्थात ८१ दशमलव शून्य ४ प्रतिशत मात्र भएको थियो।