सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अर्थतन्त्रमा ‘ब्रेक’, भन्सार असुली निरन्तर ओरालो

२०७९ फाल्गुन २३, ०२:४४

वीरेन्द्र भट्ट, धनगढीः पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा भने राजश्व असुली निरन्तर ओरालोमा छ। सुदूरपश्चिममा व्यापार व्यवसाय बढ्न नसकेपछि निरन्तर तीन वर्षदेखि राजस्व असुलीमा गिरावट आइरहेको छ।

कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यको ३६ दशमलव ८५ प्रतिशत मात्र राजश्व असुल भएको छ। सो अवधिसम्म चार अर्व ५३ करोड ५० लाख २२ हजार मात्र राजश्व संकलन भएको हो। जबकी चालु आर्थिक वर्षका लागि १२ अर्व ३० करोड ६६ लाख ७८ हजार राजस्व असुलीको लक्ष्य छ।

सुदूरपश्चिममा व्यापार व्यवसाय नबढ्दा त्यसको असर राजस्व असुलीमा परेको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पवित्रकुमार खड्का बताउँछन्। राजस्व संकलगनका सबै सुचक लक्ष्यअनुसार नहुँदा प्रदेशकै अर्थतन्त्रमा ‘ब्रेक’ लाग्न पुगेको अर्थविश्लेकष बताउँछन्।
लक्ष्यभन्दा न्युन राजस्व
२०७७ मा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व असुली गर्ने लक्ष्य राखिएकोमा ८ अर्ब ८४ करोड १४ लाख २८ हजार असुल भएको थियो। सो वर्ष लक्ष्यभन्दा असुली बढी भएपछि भन्सार विभागले कैलाली भन्सार कार्यालयका लागि वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी २०७८/७९ का लागि ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार निर्धारण गरेको थियो। तर राजश्व असुली दर बढ्न सकेन। सो वर्ष ९ अर्ब ५८ करोड २६ लाख ५० हजार मात्र राजस्व असुली भयो।

चालु आर्थिक वर्षमा पनि राजश्व असुल गर्ने लक्ष्य बढाएर १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार पु¥याइएको छ। तर ७ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव ८५ प्रतिशत मात्र असुली भएको छ। यसवर्ष वार्षिक राजश्व असुल गर्ने लक्ष्यभन्दा निकै न्युन असुल हुने देखिएको छ।

२०७७ भन्दा पहिले पनि राजश्व असुली दर लक्ष्यभन्दा कम थियो। २०७६ मा ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार असुल गर्ने लक्ष्य राखिएकोमा चार अर्ब ९२ करोड १० लाख मात्र असुल भएको थियो। त्यस्तै २०७५ मा पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार असुल गर्ने लक्ष्य राखिएकोमा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार असुल भएको थियो।

आयात घटेका कारण राजस्व असुलीमा संकुचन आएको छ। बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेका कारणले पनि आयात घटेको भन्सार कार्यालयका सुचना अधिकारी खड्काले बताए। बैंकहरुको कर्जा लगानी कटौती, तरलता अभाव लगायत कारण आयात घट्दा त्यसको असर भन्सार राजश्व असुलीसम्मै परेको छ।
साढे ३ अर्बको खाद्यान्न आयात
भारतबाट आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब बढीको खाद्यान्न, तरकारी र फलफूल मात्र आयात भएको छ। भारतबाट गहुँ, चामल, मकै, कनिका र रायोको दाना गरी २ अर्ब ६ करोड ५४ लाख बढीको खाद्यान्न आपूर्ति भएको छ। एक अर्ब २७ करोड ५३ लाख मूल्य बढीको फलफूल तथा तरकारी आयात भएको छ। खाद्यान्नतर्फ एक अर्ब १८ करोड ३५ लाख बढीको चामल भित्रिएको छ। यस अवधिमा २५ हजार बढी टन चामल आयात भएको हो।

१३ करोड ५१ लाख मूल्यको एक लाख ३६ हजार टन गहुँ आयात भएको छ। २९ करोड २५ लाख ३६ हजार बढी मूल्य बराबरको मकै आयात भएको तथ्यांक छ। १९ लाख ८१ हजार मूल्य बराबरको कनिका आयात भएको छ। ४५ करोड २३ लाख बढी मूल्यको रायोका दाना आयात भएको छ। भारतसँग सीमा जोडिएका सुदूरपश्चिमको प्रमुख भन्सार नाका धनगढीसँग जोडिएको गौरिफन्टा, टीकापुरसँग जोडिएको सत्ती र कञ्चनपुरको गड्डाचौकी भन्सार प्रमुख भन्सार कार्यालय रहेका सीमानाका हुन्। यी बाहेक अन्य जिल्लामा पनि सीमा नाका र भन्सार कार्यालय छन्।
साढे तीन अर्वको तरकारी आयात
भन्सार कार्यालय कैलालीको अभिलेखअनुसार गत वर्ष तरकारी र फलफूलको आयात पनि उच्च छ। ३ अर्ब ३४ करोड ८ लाख मूल्य बढीको तरकारी र फलफूल भारतबाट आयात भएको छ। ५१ करोड २८ लाख ८८ हजार मूल्य बराबरको १९ हजार एक सय टन तरकारी मात्रै आयात भएको छ। एक हजार ५ सय टन टमाटर, २० करोड मूल्य बराबरको ५ हजार टन प्याज आयात भएको छ। त्यस्तै ३ करोड ७ लाख बढी मूल्य बराबरको केरा आयात भएको छ।
झण्डै तीन करोडको स्याउ आयात
भारतबाट आयात भएको अर्को मुख्य फलफूल स्याउ हो। गत आर्थिक वर्षमा गौरीफन्टा नाका भएर २ करोड ७१ लाख बढी मूल्य बराबरको स्याउ आयात भएको छ। गौरीफन्टा नाका भएर ५१ लाख ३२ हजार मूल्य बढीको सुन्तला आयात भएको छ। कुनै बेला खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै बाह्य मुलुकलाई निर्यात गर्ने अवस्थामा रहेको सुदूरपश्चिम पछिल्ला वर्षहरूमा बर्सेनि ठूलो परिमाण र मूल्यको खाद्यान्न आयात गर्ने अवस्थामा पुगेको छ।

कमेन्ट लोड गर्नुस